५ जेष्ठ २०८१, शनिबार

‘आदिपुरुष’ निर्माताको बालेनलाई माफी माग्दै पत्र- ‘संवादमा सीता माताको जन्म स्थानको कुनै सन्दर्भ छैन’

balen and aadhipurush

भारतीय फिल्म ‘आदिपुरुष’को निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रीज लिमिटेडले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेख्दै फिल्ममा सीता माताको जन्म स्थानको बारेमा कुनै सन्दर्भ नभएको स्पष्टिकरण दिएको छ । सुपर कसेट्सकी राधिका दासको हस्ताक्षर रहेको पत्रमा नेपालीहरुको भावनामा कुनै तरिकाले ठेस पुगेको भए क्षमा समेत मागिएको छ ।

पत्रमा भनिएको छ, ‘यो कहिल्यै पनि, कसैका लागि र कुनै पनि तरिकाले असहमति पैदा गर्नका लागि जानीबुझी वा जानाजान गरिएको होइन । श्री राघवको चरित्रको चित्रित गर्दै प्रभासद्वारा बोलिएको संवाद ‘आज मेरो लागि नलड, त्यो दिनका लागि लड जब भारतकी कुनै पनि छोरीमाथि हात राख्नुभन्दा पहिला दुराचारी तिमीहरुको शक्ति सम्झिएर काप्नेछ’मा माता सीताको जन्म स्थानको कुनै सन्दर्भ छैन ।’

उक्त संवादले सबै नारीहरुको सम्मानलाई सन्दर्भित गर्ने र संसारभरका महिलाको सम्मान आफूहरुका लागि अति महत्त्वपूर्ण रहेको पत्रमा उल्लेख छ । ‘हामी चलचित्रलाई कलात्मक रूपमा हेर्न र हाम्रो इतिहासमा चासो सिर्जना गर्न ठूलो दर्शकहरूमा पुग्ने उद्देश्यलाई समर्थन गर्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

निर्माता दासले लेखेको पत्रमा फिल्मलाई कलात्मक रुपमा हेर्न र विश्वभरका नागरिकहरुलाई एउटा इतिहास देखाउने आफूहरुको प्रयासमा सहयोग गर्न आग्रह गरिएको छ ।

फिल्म रिलिज रोक्ने घोषणा स्थगीत हुँदैनः बालेनको सचिवालय

काठमाडौंका मेयर शाहले जानकीसम्बन्धी संवाद नसच्चाएको भन्दै भोलि सोमबारबाट काठमाडौंमा ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेका छन् । मेयर शाहले भने निर्माताले पठाएको पत्रकै कारणले हिन्दी फिल्मको रिलिज रोक्ने घोषणा स्थगीत नहुने बताएका छन् ।

बालेनको सचिवालयले भन्यो–‘त्यो पत्रमा हामीले उठाएको बिषयमा सम्बोधन भएको छैन । फिल्मको सोही संवादले देशको इतिहास र विभुतीमाथि विश्वभर धक्का लागेको छ । यो पत्र आँखामा धुलो छर्ने खालको मात्र छ । मेयरज्यूले पनि फिल्म रिलिज रोक्ने घोषणा स्थगीत नहुने बताउनुभएको छ ।’

मेयर शाहले भोलीबाट काठमाडौं महानगरपालिका भित्रका कुनै पनि हलमा ‘आदिपुरुष’ फिल्मको संवाद नसच्चिएसम्म भारतीय फिल्म रिलिज गर्न नदिने घोषणा गरिसकेका छन् । जसअनुसार, नगर प्रहरीले काठमाडौंका सबै हलमा पुगेर भोलीदेखि फिल्म नचलाउन आग्रह गरिसकेको छ । र, काठमाडौंका हल सञ्चालकहरुले सोमबारबाट सबै हिन्दी फिल्मको शो हटाएका छन् । ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन रोकिने भएपछि करोडौं रुपैयाँमा नेपाल प्रदर्शन अधिकार लिएका वितरकहरुको होस् हवास उडेको छ ।

adhipurs

    सम्बन्धित समाचार...