१३ बैशाख २०८१, बिहीबार

राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न र सवारी चलाउन प्रतिबन्ध

Ministry of Home Affairs

सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म सरकारले हिँड्डुलमा रोक लगाएको छ। यस अन्तर्गत पैदल हिड्न र सवारी सञ्चालनमा समेत राति रोक लगाएको छ ।

सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह सहप्रवक्ता उमाकान्त अधिकारी भन्छन ‘लकडाउनलाई खुकुलो पारेसँगै यसलाई व्यवस्थित गर्नलाई मापदण्ड बनाइएको हो। रातको समय पारेर मानिसहरूको अव्यवस्थित हिँड्डुल नहोस् भनेर यो प्रावधान राखिएको हो’|

त्यसैगरी मन्त्रालयले रातिको समयमा अन्तर जिल्ला प्रवेश गर्ने बढेपछी सुरक्षा जाँचमा थप कडाई गर्नका साथै ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

सुरक्षा मापदण्ड–२०७७ अनुसार सेवा प्रदायक संस्थाहरूले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने, सेवा प्रदायक र सेवाग्राहीबीच २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने र सम्भव भएसम्म सामानहरूको स्यानिटाइज गर्नुपर्ने छ । त्यस्तै कार्यालय प्रवेशद्वारमा अनिवार्य रूपमा ज्वरो नाप्ने, स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ।

त्यसैगरी विवाह-ब्रतवन्ध, मृत्यु-संस्कार, चाडपर्व, पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न पाँइदैन, गर्नैपरेको खण्डमा सामाजिक दूरी कायम गर्नुपर्ने छ।

मालसामान ढुवानी गर्ने सवारी साधनहले चालक,सहचालकबाहेक अन्य कुनै पनि यात्रु राख्न पाइने छैन ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।

मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।