१९ बैशाख २०८१, बुधबार

गृहको ४८ घण्टे अल्टिमेटमपछि २२१ सुरक्षाकर्मी फिर्ता

Ministry of Home Affairs Notice

गृह मन्त्रालयले दिएको ४८ घण्टे अल्टिमेटमपछि नियमविपरीत व्यक्तिगत सुरक्षामा खटिएका २२१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै जारी निर्देशनपछि नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

फिर्ता हुनेमा नेपाल प्रहरीबाट १०३ र सशस्त्र प्रहरीबाट ११८ सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहले बुधबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा नियमविपरीत भए फिर्ता गर्न निर्देशन दिएको थियो ।

गृहले मंगलबार कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घण्टाको अल्टिमेटम दिएको थियो । प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईका अनुसार प्रहरी प्रधान कार्यालयबाट पूर्वकर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सहयोगीका रूपमा खटिएका कर्मचारी फिर्ता आएका हुन् । ‘फिर्ता हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्नेछ,’ उनले भने ।