२६ बैशाख २०८१, बुधबार

ओलीलाई नेपालको जवाफ : आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन

madhav nepal

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने जनाए । आइतबार ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए ।

सोमबार (आज) को संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको उक्त अभिव्यक्ति अरुलाई घोचपेज हुने गरी आएको भन्दै आलोचना गरे । उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए ।

‘एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन,’ उनले भने, ‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौँ ।’

अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोप लगाए । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या भएको उनको भनाइ थियो ।

‘हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो,’ उनले भने, ‘यसबाट मुक्त हुन सकिएन भने यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने, कुरा एउटा काम अर्को । हाम्रो के छ भने ठूल्ठूला उपदेशहरु छाँटने प्रवृत्ति ज्याँदा छ । तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए ।

‘प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाईं इमान्दारिताका साथ अगाडि बढ्नोस् । लगनशीलताका साथ अगाडि बढ्नोस् । र यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नुहोस । र काममा इमान्दारसाथ खटनेहरु र काम ठगहरु अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरु को–को हुन्, त्यसको पहिचान गरेर खराब तत्वहरुलाई दण्डित गर्नुहोस् । असलहरुलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् ।’ उनले भने ।

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने जनाए ।

    सम्बन्धित समाचार...