६ जेष्ठ २०८१, आईतवार

मन्त्रीका आकांक्षी यादव आकर्षक मन्त्रालय नपाएपछि पछि हटे

upendra
फाइल फोटो

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् । सत्तारुढ दलबीचको भागबण्डामा दुईवटा मन्त्रालय पाएको जसपाले खाली रहेको वन तथा वातावरण मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो लगाउन अझै बाँकी छ ।

एमालेसहितको गठबन्धनका बेला भागबण्डामा चित्त नबुझ्दा जसपाले मन्त्रीको नाम नै पठाएन् । एमाले सरकारबाट बाहिरिएसँगै २ वटा मन्त्रालय पाउने निश्चित भएपछि २०७८ चैत १७ गते अशोक राईलाई शिक्षा मन्त्रीमा सिफारिस गर्‍यो । अर्को मन्त्रालयमा जसपाले कसैलाई सिफारिस गरेन ।

उपेन्द्र यादव बारा २ को उपनिर्वाचनमा उम्मेदवार हुने भएपछि एउटा मन्त्रालय थाती राखिएको थियो । अहिले सरकारमा वन तथा वातावरण मन्त्रालय मात्रै खाली छ । अध्यक्ष यादव आफैं मन्त्रीका आकांक्षी भए पनि आकर्षक मन्त्रालय नपाएपछि उनी पछि हटेका छन् ।

यादवले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय पाए सरकारमा जान खोजेका थिए । तर, कांग्रेसले सहरी विकास छोड्न नमानेपछि यादवले आफू बाहेकका सांसदलाई मन्त्री बनाउने भएका छन् । जसपा संसदीय दलले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिएको छ ।

पार्टीमा आदिवासी/जनजाति क्लष्टरबाट अशोक राई मन्त्री भइसकेकाले अध्यक्ष यादवले मधेशी समुदायबाट अर्को मन्त्री छान्नुपर्ने हुन्छ । राजकिशोर यादव र पूर्ववनमन्त्री प्रदीप यादव मन्त्रीका आकांक्षी छन् । तर, यादव समुदायबाट रामसहाय यादव उपराष्ट्रपति र मधेश प्रदेशमा सरोजकुमार यादव मुख्यमन्त्री भइसकेकाले गैरयादव सांसदलाई अवसर दिनुपर्ने आवाज पार्टीमा उठेको छ ।

पुरुषलाई मात्र मन्त्री बनाएको भन्दै जसपाका महिला सांसदहरुले नेतृत्वको आलोचना गरेका छन् । अध्यक्ष यादव निकट नेताका अनुसार सिरहा ४ बाट चुनिएका वीरेन्द्र महतोलाई वन तथा वातावरण मन्त्रालयमा र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीमा सिफारिस गर्ने संभावना छ ।

रामसहाय उपराष्ट्रपति चुनिएपछि खाली रहेको संसदीय दलको नेताको स्थान भने अध्यक्ष यादवले लिनेछन् ।

    सम्बन्धित समाचार...