१५ बैशाख २०८१, शनिबार

विश्वकप २०२६ को लोगो सार्वजनिक, समर्थकले उडाए मजाक

World cup logo

सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।

सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् ।

५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् । कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो ।

ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे । फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका छन् ।

‘यो लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ । जसले आगामी महिना र वर्षहरुमा यो प्रतियोगितालाई जीवन्त बनाउनेछ,’ उनले थपे ।

उनले सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने पनि दावी गरेका छन् ।

प्रतियोगिताको फाइनल खेलको मिति सार्वजनिक

तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।

विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ ।

पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्नेछन् ।

विश्वकपका खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ ।