२८ बैशाख २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ: एमाले महासचिव पोखरेल

Shankar Pokhrel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित कार्याक्रममा उनले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यविरुद्ध घात भएको उल्लेख गरे । उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको धारणा राखे ।

‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो । त्यसअर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौं । राजनीतिक आग्रह, पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किउन्, निर्दोष कसैलाई फसाउने काम नहोस्, यो मान्यताका आधारमा नक्कली भूटानी शरणार्थीको प्रकरणलाई टुंगो लगाउनुपर्छ,’ उनले भने ।

उनले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सीसीटीभी फुटेज प्रकरणबारे पनि छानबिन गर्न माग गरे । उनले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी पनि दिए । ‘नक्कली आरोप लगाउन छोडौं, कुनै पनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौं, सबै छानबिनका लागि तयार हुनुपर्छ । शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौं, बालुवाटारलगायत अनेकौं प्रकारका घटनाहरुको छानबिन गरौं,’ उनले भने, ‘राजस्वका दरहरु हेरफेर गरीकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सीसीटीभी फुटेज प्रकरण पनि छानबिन गरौं, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौं ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको दाबी गरे । उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने जनाए । उनले आफ्नो पार्टी सरकारमा रहँदा राजस्व नियमित उठ्ने गरेको तर अहिले राजस्व नै उठ्न नसक्नुको कारण माग गरे । उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहित गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गरे ।

‘आर्थिक संकट के कारणले उत्पन्न भयो, नेपाली समाजको सामर्थ्य कमजोर भएर आर्थिक संकट कमजोर भएको हो ? होइन । नेपाली समाजमा सामर्थ्य छ, तर त्यो सामर्थ्यलाई राज्य सञ्चालकहरुको गलत ढंगले प्रयोग गरेका कारणले आज मुलुक संकटमा छ,’ उनले भने, ‘जति बेला नेकपा एमाले सरकारमा आउँछ, हरेकपटक राजस्व वृद्धि हुन्छ । अहिले राजस्व नउठेर हालत चौपट भएको छ ।’

महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने धारणा राखे ।

    सम्बन्धित समाचार...