७ जेष्ठ २०८१, सोमबार

‘आफ्नै देशको जनता बेचेर खान ठूला दलको सर्वदलीय सहमति’

rrp 1

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको जनाएका छन् ।

काठमाडौंमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोधसभामा उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको धारणा राखे । उनले विश्वजगत्‌मा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको जनाए । ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ,’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको उनको भनाइ छ । ‘भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार योभन्दा अरु के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन । विश्व जगत्‌मा नेपालको बद्नाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ,’ उनले भने, ‘यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ ।’

उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको दाबी गरे । ‘यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको छ,’ उनले भने । उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसले उन्मुक्ति पाउनु नहुने जनाए । नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दा चल्नुपर्ने लिङ्देनको भनाइ छ । उनले अपराधमा संलग्नहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्यसम्बन्धी अपराधका मुद्दाहरु चलाउन आग्रह गरे । उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने धारणा राखे ।

‘यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य विरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनै पनि मानिसहरुले उन्मुक्ति पाउनु हुँदैन । कसैले पनि छुट पाउनु हुँदैन । यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्छ,’ उनले भने, ‘यो राज्यविरुद्धको अपराध हो । यो ठगी र संगठित अपराध हो । सरकारी दस्तखत कृत्यसम्बन्धी अपराध पनि हो । सबै प्रकारका मुद्दाहरु चलाउनुपर्छ । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोगपत्र बुझाउने बेला भएको छ । छानबिनमा आउनुपर्ने मानिसहरुको नाम नछुटोस् भन्न दबाबका लागि सभाको आयोजना गरिएको हो ।’

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने जनाए । उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने जनाए । उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने जानकारी दिए ।

    सम्बन्धित समाचार...