२८ बैशाख २०८१, शुक्रबार

भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

teknatha

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

आज (बिहीबार) मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगिएको छ ।

हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान प्रहरीले मियाँलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समिति अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका बालकृष्ण खाणले मियाँको कार्यकाल दुई वर्ष थपिदिएका थिए ।

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा मिया बिहीबार पक्राउ परेका हुन् ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १५ जना पक्राउ परिसकेका छन् ।

    सम्बन्धित समाचार...