२५ बैशाख २०८१, मंगलवार

कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासाे

prachanda pm
फाइल फोटो

कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् ।

दाहालले बुधबार भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, निमित्त भूमि व्यवस्था सचिव पीताम्बर घिमिरे तथा भूमि व्यवस्थापन विभाग र नापी विभागका महानिर्देशक पद्मनिधि सोती र जनक जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएर कित्ताकाटलाई सरल बनाउन भूमिसम्बन्धी नियमावली, २०७९ संशोधनका लागि प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए ।

स्रोतका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउन कित्ताकाटसम्बन्धी कानुनलाई खुकुलो बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘प्रधानमन्त्रीज्यूको चासो अर्थतन्त्रलाई चलायमान गराउन कित्ताकाटलाई सरल बनाउनुपर्‍यो भन्ने देखियो,’ भेटमा सहभागी भूमि व्यवस्थापन विभागका महानिर्देशक सोतीले भने, ‘यसका लागि प्रस्ताव तयार गर्न प्रधानमन्त्रीज्यूले हामीलाई अह्राउनुभएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    सम्बन्धित समाचार...