४ जेष्ठ २०८१, शुक्रबार

तत्काल बजार चलायमान हुने अपेक्षा न्युन : महासंघ

fncci chamber of commerce

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले हालको आर्थिक अवस्था मूलतः खराब कर्जाको जोखिम बढ्दै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त–उपाय अबलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको नेपाल उद्योग वाणिज्य महासंघले उल्लेख गरेको छ ।

आर्थिक गतिविधिहरू सिथिल हुँदा उद्यमी व्यवसायीहरूमा कर्जाको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको सन्दर्भमा आंशिक रूपमा ऋणको पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिइएको छ ।

होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकरण गर्न सक्ने सुविधा दिएको छ । यसमा उत्पादनमूलक क्षेत्र भने छुटेको महासंघले उल्लेख गरेको छ ।

समीक्षामार्फत बैंक दरलाई १ प्रतिशत विन्दुले घटाई ७.५ प्रतिशत कायम गरिए पनि बैंकर्स संघले आगामी महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरिसकेको हुँदा तत्काल कर्जाको ब्याजदर घट्ने सम्भावना न्युन देखिएको पनि महासंघले उल्लेख गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    सम्बन्धित समाचार...