१५ चैत्र २०८०, बिहीबार

भारतले तत्काल सेना फिर्ता लगेर दार्जिलिङ हामीलाई सगौरव फिर्ता दिनुपर्छ: दिनानाथ शर्मा

sharma

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताएका छन्।

शर्माले भारतले सगौरव नेपाललाई दार्जिलिङ फिर्ता दिनुपर्ने बताएका छन्। संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेकपाका सचेतक शर्माले अब भारतले सेना हटाउँदै नेपालको भूमि पूर्ण रुपमा फिर्ता दिनुपर्ने माग गरे।

बिहीबार लिम्पियाधुरासहितको नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय सभा बैठकमा शर्माले अंग्रेजले हडपेको नेपालको दार्जिलिङ लगायत जमिन तपाईंहरूको नासो हो भन्दै भारतले सगौरव फिर्ता गर्नुपर्ने बताए।

‘यदि भारतले नेपाललाई असल मित्र ठान्छ भने अंग्रेजले लुटेको जमिन भारतबाट अंग्रेज भागिसकेपछि फिर्ता गर्नुपर्छ,’ शर्माले भने, ‘भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ। अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ।’

अंग्रेजले लुटेको जमिन अंग्रेज भारतबाट भागिसकेपछि भारतले नेपाललाई फिर्ता लिनुस् भन्नुपर्ने उनको तर्क छ।

‘तर हामीले ती भूमि माग गरेका छैनौं,’ शर्माले भने।

नेपालले मित्र ठानेर भारतलाई कालापानीलगायत ठाउँमा पहिले चेकपोस्ट राख्न दिएको उनले बताए।

‘नेपालले उत्तरी सीमामा चेकपोस्ट राख्न अनुमति दियो। अप्ठेरो परेको बेला बास बस्न दियो तर बास बस्न आउनेले यो बारी, घर सुन्दर रहेछ भनेर छोड्दिनँ भन्न मिल्छ?,’ उनले प्रश्न गरे।

शर्माले राष्ट्रियताका पक्षमा सबै एकढिक्का भएर जमिन फिर्ता लिनुपर्ने बताए।

भारतले छिटो कालापानीलगायत क्षेत्रमा राखेको सेना फिर्ता गर्नुपर्ने उनले बताए।

‘नेपालको भूमिमा भारतीय सेना बसेको छ त्यो फिर्ता हुनुपर्छ,’ उनले भने, ‘कुनै पनि साम्राज्यवादी बुटले हाम्रो भूमि अपवित्र बनाउन सक्दैन। भारतीय मित्रले नेपालीको सम्मान गर्नुपर्छ। भारतीय सेना जान्छन् भन्ने प्रतीक्षा थियो। तर नक्सामा नेपालको भूमि पार्‍यो। आफ्नो भूमि दाबी गर्‍यो त्यो दु:खको विषय हो।’

भारतीय जनताले लिम्पियाधुरा, कालापानी लिपुलेक आफ्नो दाबी नगरे पनि शासक र सेनाले कब्जा गरिरहेको उनले बताए।

‘भारतीय मित्रले भुल गर्न सक्छन्। भारतीय नेताले नक्सामा पारेको हाम्रो भूमि फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘नेपाली र भारतीय जनताको मित्रता युगौंदेखिको हो। हामी मित्रता बिग्रार्न चाहन्नौं।’

उनले संवादबाटै सीमा समस्या हल गर्नुपर्ने बताए।

नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई केन्द्रमा राखेर संशोधन गर्ने प्रस्ताव पेश गरिएको भन्दै उनले एक युगमा एक दिन आज रहेको बताए। ‘यो संविधान संशोधन विधेयकलाई स्वागत गर्दछु। प्रतिनिधि सभाबाट जसरी सर्वसम्मतिले पारित भएर आएको छ, सरकार र सबै दलहरुलाई धन्यवाद दिन चाहन्छु,’ शर्माले भने, ‘नेपाली राष्ट्र र राष्ट्रियताका लागि एक ठाउँमा छौं भन्ने सन्देश यो संशोधनले दिने छ।’

प्रजातन्त्रका लागि लडिएको लामो लडाइँमा अलग–अलग भएपनि अहिले एकजुट भएको उनले बताए।

नेपाल र भारतबीच यो विषय समाधान नभए अन्तर्राष्ट्रिय विज्ञहरु राखेर समाधान गर्नुपर्ने उनले बताए। भारतीय नागरिक र विज्ञहरुले उक्त क्षेत्र नेपालको भनेकाले अबको नेतृत्वले हालै भएको गल्ती सच्चाउनुपर्ने उनले बताए। ‘नेपाल र भारतबीच युगदेखिको नाता हो भनेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि भन्नु भएको छ,’ उनले भने, ‘अरुलाई दुःख दिनु अपराध हो भन्ने हिन्दु धर्मका कुरा भारतका शासकहरुले बुझेका छन् ।’

नेपालीले मुटु काटेर अरुलाई जमिन दिन नसक्ने उनले बताए। सीमामा रहने जनता र मधेशका जनताको भूमि जोगाउन ठूलो भूमिका रहेको भन्दै उनले मधेशबाट उठेको मागलाई उपयुक्त समयमा संशोधन गर्नुपर्ने बताए।

प्रतिनिधि सभाबाट पारित भइसकेको संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुनेछ। दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि संविधानको अंग बन्नेछ।