२४ बैशाख २०८१, सोमबार

एमाले विहीन बन्दै प्रदेश सरकार

uml

संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका चार प्रदेश सरकारमध्ये तीनवटा प्रदेश सरकार ढलेसँगै प्रदेशको नेतृत्बाट समेत एमाले च्युत भएको हो ।

मंसिर ४ को निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धनबाट शक्ति बाँडफाँट गर्दा एमालेका भागमा परेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाउन नसकेपछि ती प्रदेशमा एमाले सरकार ढलिसकेका छन् । अहिलेसम्म एमाले नेतृत्वको सरकार केवल कोसी प्रदेशमा मात्रै बाँकी छ । कोसी प्रदेशसभामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका आठ दलीय सत्ता गठबन्धन र वर्तमान प्रदेश सरकार गठबन्धनको बराबरी संख्या भएकाले एमाले सरकार कायमै छ ।

कोसीमा राप्रपाले एमालेलाई दिएको समर्थनसहित सत्ता सहयात्रा कायमै राखेको छ । बागमतीमा राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेससहितको गठबन्धनले माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएर निरन्तरतामा सहयोग गरेका हुन् । त्यस्तै, कर्णली प्रदेशमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीको जिम्मेवारी निरन्तरता पाउनुभएको छ भने मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट