२० बैशाख २०८१, बिहीबार

तनहुँ अपडेट : सत्ता गठबन्धनको गढमै स्वर्णिम बलियो

wagle

तनहुँमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य सबै दलको भन्दा बढी मत जुटाएर फराकिलो अग्रता बनाएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा ५ वटा स्थानीय तहका ४२ वटा वडा समेटिएका छन् । यस क्षेत्रमा व्यास नगरपालिकाका १२ वटा वडाहरु समेटिएका छन् भने भानु नगरपालिकाका सबै वडा समेटिएका छन् । त्यसैगरी तीनवटा गाउँपालिका बन्दीपुर, आँबुखैरेनी र देवघाट यस निर्वाचन क्षेत्रमा पर्छन् ।

आइबार रातिदेखि आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका वडाहरुको मतगणना हुँदा घण्टी चिह्न लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तर बनाएका हुन् ।

तनहुँमा राप्रपाको मत मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवारको भन्दा पनि कम देखिएको छ । मंगोलका प्रेमबहादुर थापाले ७६ मत पाउँदा राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छिन् । २२ उम्मेदवार रहेको यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर रानाले १३ मत पाएका छन् । बाँकी १६ जनाले मत पाउन सकेका छैनन् ।

बिहानसम्म ११ वटा वडाको १३ हजार ७५९ मत गन्दा स्वर्णिमले ७ हजार ६२५ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४७१ र एमालेका सर्वेन्द्र खनालले २ हजार २१९ मत पाएका छन् ।

कांग्रेसको गढबाटै पाएनन् भट्टराईले मत

१३ वटा वडाहरु रहेको भानु नगरपालिका नेपाली कांग्रेसको गढ मानिन्थ्यो । गत स्थानीय चुनावमा यहाँको प्रमुख र उपप्रमुख दुबै कांग्रेसले नै जितेको थियो । यहाँ ९ वटा वडा कांग्रेसले जितेको थियो भने दुई वटा स्वतन्त्र र २ वटा एमालेले जितेका थिए । तर, कांग्रेसको बर्चश्व रहेको यस पालिकामा पनि कांग्रेस-एमालेलाई पछि पार्दै स्वर्णिमले बहुमत पाएका छन् ।

भानु नगरपालिकाको वडा नम्बर ३ मा खसेको १ हजार ५७४ मतमध्ये रास्वपाले ७१४, कांग्रेसले ४१८ र एमालेले ३५१ मत पाएका छन् ।

त्यस्तै वडा नम्बर ४ मा खसेको १ हजार ६७५ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ७५९, कांग्रेसले ४८२ र एमालेका उम्मेदवारले ३४९ मत पाएका छन् ।

वडा नम्बर ८ मा १ हजार ७९४ मध्ये घण्टीमा ८५६, रुखमा ४५८ र सूर्य चिह्‌नमा ४३७ मत परेको छ ।

सत्ता गठबन्धनको गढमै स्वर्णिम बलियो

गत बैशाखको स्थानीय तहको मत परिणाम हेर्दा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रले जितेको थियो भने कांग्रेस दोस्रो र एमाले स्थानमा थिए । पाँचवटा वडामध्ये कांग्रेस र माओवादीले दुई/दुई र एमालेले एउटा वडा जितेका थिए । तर, सत्ता गठबन्धनको बलियो आधार हुँदा-हुँदै पनि आँबुखैरेनीमा स्वर्णिमको पक्षमा अधीक मत खसेको छ ।

आबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ मा खसेको १ हजार ४५८ मतमध्ये रास्वपाले १ हजार ६५ मत पाएको छ भने कांग्रेसले २७६ र एमालेले ५४ मत पाएका छन् ।

वडा नम्बर २ मा खसेको १ हजार ३९२ मतमध्ये रास्वपाले ८ सय ८१, कांग्रेसले ३३६ र एमालेले १०८ मत पाएका छन् ।

वडा नम्बर ३ मा २ हजार १७३ मत खसेकोमा रास्वपाले १ हजार ५७४ मत पाएको छ । यहाँ कांग्रेसले ४०१ र एमालेले १९१ मत पाएका छन् ।

आबुखैरेनी वडानम्बर ४ मा खसेको ६९४ मतमध्ये स्वर्णिम वाग्लेले ३३२ मत पाएका छन् भने गोविन्द भट्टराईले २३७ र सर्वेन्द्र खनालले ८५ मत पाएका छन् ।

मतगणना शुरु गर्न बाँकी नै रहेको ब्यास नगरपालिका पनि कांग्रेसकै बर्चश्व रहेको पालिका हो । स्थानीय चुनावमा यहाँका १२ वडामध्ये १० वटा कांग्रेसले जितेको थियो । नगरप्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको थियो । तर, भानु नगरपालिकाको जस्तै हुने हो भने यहाँबाट पनि कांग्रेसलाई भोट नझर्न सक्छ ।

विगतमा बन्दीपुरमा कांग्रेस र एमालेको बराबरीजस्तै शक्ति थियो । प्रमुख र उपप्रमुख उनीहरुले बाँडेर जितेका थिए । यस पालिकामा माओवादी तेस्रो शक्तिका रुपमा मानिन्थ्यो । ६ वटा वडाहरु रहेको यस पालिकामा मत गणना सुरु भएको छैन । ५ वटा वडा रहेको देवघाटमा पनि विगतको जनमत कांग्रेस-एमाले र माओवादीका त्रिपक्षीय सन्तुलनमा रहेको थियो । यहाँको पनि मतगणना सुरु भएको छैन ।

बढी मतदाता रहेको व्यास नगरपालिकाको मतगणनाले अब नेपाली कांग्रेसको स्थितिलाई थप दर्शाउने छ । स्वर्णिमले व्यासमा पनि कांग्रेसको गढ भत्काए भने उनको जित ५० प्रतिशतभन्दा माथि हुने सम्भावना देखिन्छ । कुल १ लाख २३ हजार मतदाता रहेको तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको छ ।

कांग्रेसको गढमै कांग्रेसका उम्मेदवारलाई मत कम खस्नु र माओवादीको मत कांग्रेसमा ट्रान्सफर नहुनुले चुनावी गठबन्धनको सान्दर्भिकतामाथि नै प्रश्न उब्जाएको छ । उता, एक्लै चुनाव लडेको नेकपा एमालेले समेत आफ्नो मत जोगाउन सकेको देखिएन । तनहुँको प्रारम्भिक नतिजा हेर्दा राप्रपाप्रतिको मतदाताको विकर्षणसमेत सतहमा आएको छ ।