७ बैशाख २०८१, शुक्रबार

कांग्रेसका डिल्ली बहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बन्ने तयारीमा

Dilli chaudhari

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् । तत्कालीन गठबन्धनको दल माओवादीसहित छ दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार गिरीले प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् । कूल ८७ सस्यीय प्रदेश सभामा मुख्यमन्त्री गिरीको सरकार जोगाउनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । गिरीको समर्थनमा ४४ सांसद नदेखिएकाले उनी नेतृत्वको सरकार ढल्ने निश्चित छ ।

प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले गिरीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अब लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको नेतृत्वमा प्रदेश सरकार बनाउने तयारी भइरहेको लुम्बिनी कांग्रेस सचेतक निमा गिरी बताउँछिन् ।

‘नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादीसहित ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यस भन्दा अगाडि नै हामीले कांग्रेस, माओवादी र अन्य दलहरु मिलेर प्रदेश प्रमुखकोमा बहुमत पुर्याएर पठाइसकेको अवस्था छ । अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्छ । हाम्रो संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको नेतृत्वका सरकार बन्छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै गिरीले भनिन् ।

गत पुष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका गिरी माओवादीसहितका दलले सहकार्य तोडेपछि अल्पमतमा परेका हुन् । संवैधानिक व्यवस्था अनुसार विश्वासकाृे मत लिने प्रयोजनका लागि आज विहान ११ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, राप्रपाका ४ सांसद मुख्यमन्त्री गिरीको पक्षमा देखिएका छन् । गिरी नेतृत्वको प्रदेश सरकार जोगाउनका लागि कम्तिमा ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

त्यसैले गिरीले विश्वासको मत पाउने सम्भावना छैन। एमालेका २९ र राप्रपाका ४ गरी गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन्।

    सम्बन्धित समाचार...