१४ बैशाख २०८१, शुक्रबार

म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सफाइ, मेरो ६ वर्ष कसले फिर्ता गर्छ?

match fixing accused cleanchit

अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो ।

सरकारले लगाएको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै आज अदालतले उनीहरुलाई अन्तिम सफाइ दिएको हो।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तान सहित ६ जनालाई पक्राउ गरेको थियो। २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

उनीहरुलाई २०७५ जेठ २४ गते विषेश अदालतले सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्व कप्तान सागर थापा, पूर्व गोल किपर रितेश थापा र विकास सिंह क्षेत्री, र उप कप्तान सन्दीप राईलाई सफाई दिने फैसला गरेको थियो।

म‌ंगलबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुमाथि लगाइएको मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।

तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुरा पुष्टि हुन नसकेपछि सफाइ दिएको हो।

सागर थापा भन्छन् – मेरो ६ वर्ष कसले फिर्ता गर्छ?

सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै साकाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अदालतबाट न्याए पाएको भन्दै अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन् ।

सफाइ पाएपछि सागर भन्छन्– ‘नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो। तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन्। मेरो ६ वर्ष कसले फिर्ता गर्छ?’

‘हामीले खेलिरहेको समयमा नभएको त्यस्तो आरोपले देशभर नै गलत सन्देश गयो। एन्फाले पनि केही सोचेन। अब त एन्फाले केही सोच्ला कि। हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने? जीन्दगी नै वरवाद भयो नि’ सागरले भने।

खेल मिलेमतोको गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट मंगलबार सफाइ पाएका हुन्। सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो।

तत्कालिन समय राष्ट्रिय टिमका कप्तानसमेत रहेका थापा भन्छन्– ‘कसैको व्यक्तिगत स्वार्थमा गम्भीर आरोप लगाउने काम राम्रो होइन। अब हामी कसरी अगाडि बढ्ने त केही सोच्न सकेको छैन। अब दिमागमा एउटै कुरा छ खेर गएको समय कसले जिम्मेवारी लिने हो?’

त्यसैले अब नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यो प्रतिवन्ध हटाउनका लागि पहल गर्नुपर्ने थापाले बताए । ‘हाम्रो अभिभावक संस्था भनेकै एन्फा हो । अब एन्फाले नै त्यसमा पहल गर्नुपर्छ’, थापाले भने, ‘एन्फा र सरकारले नै पहल गर्नुपर्छ ।’

उसो त खेलाडीहरुले प्रतिबन्धविरुद्ध विश्व खेलकुदको अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्टसमा अपिल गर्न पाउँछन् । तर त्यहाँ पुनरावेदन गर्न महँगो भएकाले कठिन भएको थापाले सुनाए । त्यसका लागि धरौटी रकम २५ हजार डलर लाग्छ ।

ढिलै भए पनि न्याय पायौं, प्रतिबन्ध हटाउन एन्फाले पहल गरोस्

करिब ६ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाएका लाडीहरुले ढिलै भए पनि न्याय पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

तत्कालिन राष्ट्रिय टिमका गोलकिपर रहेका रितेश थापा भन्छन्, ‘हामीले ढिलै भए पनि न्याए पाएका छौं । सबै खेलाडीहरु खुशी छौँ ।’

अदालतबाट सफाइ पाए पनि विश्व फुटबल महासं‌घ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने उनीहरुलाई आजिवन फुटबलमा प्रतिबन्ध लगाएको छ । त्यो नहटेसम्म उनीहरुले फुटबल खेल्न पाउने छैनन् ।

आगामी दिनमा फुटबलमै बिताउन चाहेको भन्दै नेपाल पुलिस क्लबका पूर्वगोलिकपरसमेत रहेका रितेश थापाले भने, ‘त्यत्रो रकम तिर्न गाह्रो हुन्छ । यसको लागि एन्फा र सरकारले पहल गरिदिनुपर्छ ।’