१६ चैत्र २०८०, शुक्रबार

योजना र लगानीबिना नेपाली फुटबलमा नतिजाको अपेक्षा

Maurtaus football
फाइल फोटो

भारतमा भएको २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाली युवा टोली तेस्रो स्थानमा रहँदै घर फर्कियो । प्रतियोगितामा भारतसँग अप्रत्यासित हार व्यहोरेसँगै फेरि एक पटक नेपाली फुटबलको ग्रासरुट कार्यक्रमबारे आलोचना भयो ।

पराजय व्यहोरेको समयमा यो विषयले चर्चा पाए पनि अरु बेला कुरै नहुनु नेपाली फुटबलको दुर्भाग्य हो । छिमेकी राष्ट्रले उमेर समूहदेखिनै खेलाडी तयार बनाइरहँदा नेपाली फुटबलका सम्बन्धित निकाय भने पाएका सीमित सफलतामै रमाइरहेको छ ।

भारतको भुवनेश्वरमा २० वर्ष मुनिको साफ च्याम्पियनसिप हुने तय भयो । सहभागी अन्य राष्ट्रहरु तयारीमा जुटिरहँदा नेपालसँग भने यो उमेर समूहको टोलीनै थिएन् । एन्फाले हतारहतार मेघराज केसीलाई मुख्य प्रशिक्षक चुन्दै टोली तयार पार्ने जिम्मेवारी दियो । केसीको टोलीले करिब २ महिना अगाडि खुल्ला आह्वानमार्फत् खेलाडी छनोट गर्दै प्रतियोगिताका लागि जेनतेन तयारी पूरा गर्‍यो ।

अनुभव र पर्याप्त तयारीबिनानै भुवनेश्वर पुगेको टोलीले सुरुवाती समय आशलाग्दो प्रदर्शन गरे पनि भारतसँगको ८–० को हार अप्रत्यासित रह्यो । मुख्य प्रशिक्षककै भनाइ मान्ने हो भने यो हारले नेपाली फुटबलको वास्तविक स्तर छर्लङ् बनायो । उमेर समूहमा नेपाल सधैँको दाबेदार टोली हो । तर भारत र बंगलादेशले जुन रुपमा फुटबलको विकास गरिरहेका छन् त्यसको तुलनामा नेपाल निकै पछि परिसकेको यो एउटा उदाहरण मात्र हो ।

यो प्रतियोगिताका दुई फाइनलिष्ट टोली भारत र बंगलादेशले जुन रुपमा योजनाबद्ध रुपमा युवा लक्षित फुटबल कार्यक्रम गरिरहेका छन् त्यसबाट पनि नेपालले धेरै कुरा सिक्न सक्छ । फुटबलमा युवा खेलाडी तयार पार्ने उद्देश्यका साथ भारतको फुटबल फेडेरेसनले सन् २०१० मै ईन्डियन एरोज क्लबको स्थापना गरेको थियो । केहि वर्षमै यो कार्यक्रम बन्द भए पनि २०१७ मा पुनः सुरु भएको यो योजना अनुसार फेडेरेसनले ईन्डियन एरोजलाई आई लिगमा सहभागी गराउँदै आएको छ । जसको मुख्य उद्देश्यनै युवा खेलाडीलाई प्रशिक्षण दिई बढिभन्दा बढि म्याच एक्सपोजर दिनु हो ।

त्यही क्लबबाट लामो समयदेखि एक साथ खेल्दै आएको भारतको युवा टोलीले नेपालविरुद्ध गरेको प्रदर्शन तारिफ योग्य रह्ययो । अझ पछिल्लो दुई वर्षदेखि आइएसएलले इङ्लिस प्रिमियर लिगसँग मिलेर नेक्स्ट जेनेरेसन कपको नाममा दुई लिगमा खेल्ने क्लबका युवा टोलीबीच प्रतियोगिता गराउँदै आइरहेको छ । यसले भारतीय क्लबमा रहेका युवा खेलाडीलाई युरोपेली क्लबका खेलाडीसँग खेल अनुभव लिने राम्रो मौका समेत दिँदै आएको छ । स्थानीय खेलाडीको स्तरबृद्धिका लागि यो कार्यक्रम भारतको महत्वाकांक्षी योजनाका रुपमा समेत हेरिएको छ ।

अर्को फाइनलिष्ट टोली बंगलादेशले पनि भारतकै सिको गर्दै युवा लक्षित योजना ल्याएको छ । बंगलादेश फुटबल फेडेरेसनले युवा खेलाडी लक्षित गर्दै गत वर्ष फुटबल एकेडेमी सञ्चालनमा ल्यायो । युवा खेलाडीलाई स्तरीय प्रशिक्षण र खेल अनुभवका लागि छुट्टै टोली निमार्ण गरी हाल यो टोलीले त्यहाँको दोस्रो श्रेणीको बंगलादेश च्याम्पियन्स लिग खेल्दै आएको छ । यस बाहेक बिसिएल र शीर्ष श्रेणीको बंगलादेश प्रिमियर लिग खेल्दै आएका खेलाडीसहित भारत पुगेको टोलीले घरेलु फुटबल संरचना बलियो हुँदाको नतिजा देखाएको छ ।

तर नेपाल भने प्रतियोगिताको केही महिनाअगाडि टालटुले टोली बनाउँदै प्रतियोगितामा सहभागी हुँदै औपचारिकता पूरा गर्छ । तर उत्कृष्ट नतिजाका लागि अन्य टोलीले के कस्ता योजना ल्याएको छ ध्यान दिँदैन । जबसम्म एन्फाले दिगो योजनासहित फुटबलका कार्यक्रम ल्याउन सक्दैन तबसम्म नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा दिन सक्दैन् ।