१२ बैशाख २०८१, बुधबार

सीमारेखा नाघेर चीनतर्फ आएका कारण झडप, भारतीय सेनाले आक्रमण गरेको चीनको दाबी

china

चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।

भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको बताएका छन् ।

गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय सेनाले सोमबार दुई पटकसम्म सीमा पार गर्नुका साथै चिनियाँ सैनिकहरुमाथि उत्तेजनात्मक आक्रमण गरेका कारण भौतिक मुठभेड हुन गएको हो।’

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सेनाले सीमा मिचेर दुई पक्षीय सहमति तोडेको आरोप पनि लगाएको छ।

‘भारतीय सैनिकहरूले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लङ्घन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै ट्विटरमा लेखेको छ ।

समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपङ्तिका सैनिकहरूलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको हो। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

विदेश मन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् । एजेन्सी