१४ बैशाख २०८१, शुक्रबार

भारत जान लाग्दा सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्कायो

saritagiri

भारत जान लागेकी सरिता गिरीलाई प्रहरीले फर्काइदिएको छ।

सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।

सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।

उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।

‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर राेकेका हौं’, कुरा गर्दै एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’

भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो।

सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी आफूले पाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरले बताए ।

सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।

भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्।

उनले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीको ह्विपसमेत नमानेपछि अहिले उनलाई जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।

सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’

सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् ।सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ । गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।