२६ बैशाख २०८१, बुधबार

नेपालको क्षेत्रफल बढेको सिमाविद् बुद्धिनारायण श्रेष्ठको दावी

nepal pt2021 06 15 07 55 49

सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

आज सिमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरण कार्यक्रममा सिमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो ।

चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

सिमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ । पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रहरुको अध्ययनबाट हाँसिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उहाँले बताउनुभयो ।

नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालको नक्साको द्वन्द, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्यकासाथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उहाँले बताउनुभयो ।