३ जेष्ठ २०८१, बिहीबार

अब कांग्रेससँग वार्ता हुँदैन: गोविन्दराज जोशी

govindaraj josi
फाइल फोटो

गोविन्दराज जोशी समूहले कांग्रेसले आफूहरुलाई झुक्याइरहेको भन्दै तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताएका छन् ।

कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणासमेत गरेका छन् । ‘नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

उनले जारी गरेको विज्ञप्तिमा यसअघि कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरुलाई अपमान गर्ने खालको दस्तावेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ– १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ ।’ उनले भने ।