२९ बैशाख २०८१, शनिबार

युक्रेनमा पश्चिमा देशका सैन्य दस्ता तैनाथ रहेको खुलासा

ukrine

रुस–युक्रेन युद्धका क्रममा पश्चिमा गठबन्धनको विशेष सैन्य दस्ता युक्रेन भित्र सक्रिय रहेको एक दस्तावेजले खुलासा गरेको छ ।

युक्रेन युद्धबारे चुहावट भएका गोप्य दस्तावेजहरुमध्ये एकले बेलायतसहितका थुप्रै देशको विशेष सैनिक बल युक्रेनी भूमिमा परिचालित रहेको पुष्टि गरेको हो । यस विषयमा एक वर्षभन्दा बढी समयदेखि शंका गरिए पनि तथ्य बाहिर आउन सकेको थिएन । तर, हालै सार्वजनिक भएको गोप्य दस्तावेजले यसको पुष्टि गरेको हो ।

दस्तावेजमार्फत युक्रेनको वसन्त याममा प्रत्याक्रमण गर्ने तयारीको संवेदनशील विवरणसमेत बाहिरिएको छ ।

गत २३ मार्चमा तयार गरिएको दस्तावेजले युक्रेनी भूमिमा सबैभन्दा धेरै बेलायतको विशेष सैनिक बल रहेको खुलासा गरेको छ । दस्तावेजअनुसार बेलायतले ५० वटा विशेष सैन्य दस्ता पठाएको छ । यस्तै नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा सैन्य दस्ता पठाएको छ । दस्तावेजले ती सैन्य दस्ताहरु कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे केही खुलाएको छैन ।

पश्चिमा देशको विशेष सैन्य बलको युक्रनेमा देखिएको उपस्थितिले रुसलाई थप क्रुद्ध पार्न सक्ने आकलन भइरहेको छ । पछिल्लो समय मस्कोले आफू युक्रेनसँग मात्र नभएर नेटो गठबन्धनसँग पनि लडिरहेको तर्क गर्दै आएको छ ।

अमेरिकाले उक्त दस्तावेज चुहावटको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ । बेलायतको रक्षा मन्त्रालय भने गोप्य दस्तावेज चुहावटमा गम्भीर तहका गल्तीहरु देखिएको जनाएको छ । तर उसले दस्तावेजबाट चुहावट भएकै विषयमा प्रतिक्रिया दिएको छैन ।

    सम्बन्धित समाचार...