२३ बैशाख २०८१, आईतवार

गगन थापा भन्छन् – प्रधानमन्त्रीको फुर्सद देखेर छक्क पर्छु

Gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा शुक्रबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको आरोप लगाए । प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको उनको भनाइ छ ।

‘मेरो लक्ष्य प्रस्ट छ । यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो । जस भए पनि मेरो हो । अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु,’ उनले भने, ‘केही कार्यक्रममा मलाई अतिथिका रुपमा बोलाइयो । मैले भने म भ्याउँदिनँ । आयोजकहरुले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अफ्ठयारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यति धेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु ।’

उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन पनि आग्रह गरे । प्रधानमन्त्री दाहालसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको भन्दै उनले लक्ष्यमा पुग्नका अलमल भइरहेको भन्दै सचेत गराए । ‘वैदेशिक रोजगारीमा जाँदा दुःख नदिने, एकल अंकमा ब्याजदर झार्ने, राजस्व चुहावटमा भएका कुराहरुलाई कडाइका साथ नियन्त्रण गर्ने, प्रधानमन्त्रीले दिनुभएका निर्देशनहरु हुन् । हामीले अर्कोतिर घोषणाहरु हेर्‍यौं भने दलितहरुले सयौँ वर्षसम्म सम्झने खालको कार्यक्रम म लिएर आउँछु । गोरखकाली रबर उद्योग म चलाउँछु । शिक्षा क्षेत्रमा प्याकेज ल्याएर सुदृढ बनाउँछु । यो प्रधानमन्त्रीका घोषणाहरु हुन्,’ उनले भने, ‘निर्देशन र घोषणा यो दुईवटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरु नआएका होइनन् । सुधारहरु नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरु अलपत्र हुन्छन् र कुनैबेला गएर फेरि मैले दिएका निर्देशनहरु मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ ।’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम संसद् चलिरहेका बेलामा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । उनले न्यूनतम कार्यक्रम संसद्‌भित्रै प्रस्तुत हुनुपर्ने धारणा राखे । संसद् चलिरहेका बेलामा यस्ता कार्यक्रम संसद्‌भित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उनको जोड थियो ।

‘केही कुराहरु उठेका छन् । सदन चलिरहेका बेलामा सदनमै प्रस्तुत हुनुपर्थ्यो भनेर । म पनि त्यही भन्दछु । यद्यपि यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुस २५ गते सदन चलिरहेकै बेलामा बाहिर प्रस्तुत भयो । त्यो बेलामा प्रतिपक्ष दलका तर्फबाट हाम्रा केही साथीहरुले गलत भयो भन्नुभयो आज हामी सत्तापक्षमा छौं यसलाई सही नभनौं । हिजो सत्तापक्षमा हुँदै गर्दा बाहिरकोलाई सही भनेको कुरालाई त्यो गलत थियो भनेर मनन गरौं । र यस्तो सदन चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु सदनमै प्रस्तुत हुने कुरालाई कम्तिमा एउटा परम्परा बनाऔं भन्ने लाग्छ,’ उनले भने ।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्न राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको दाबी गरे । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको जनाए । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाइ छ । सांसद थापाले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गरे ।