१३ बैशाख २०८१, बिहीबार

अपराधको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

मंगलबार अर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए ।

तर, मंगलबार साँझ नै महामन्त्री गगन थापाले भने अपराधमा संलग्न नेताको भारी पार्टीले बोक्न नसक्ने भन्दै कारबाहीको माग गरेका हुन् ।

खाँण नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् भने शेर्पा सोमबार आफैं प्रहरी कार्यालय हाजिर भएका थिए । उनलाईसमेत प्रहरीले हिरासतमा नै राखेको छ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेताबारे पार्टीका दुई जिम्मेवार नेताको फरकफरक आसयसहितको अभिव्यक्तिले कांग्रेस नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेतालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा अलमलमा रहेको र सो विषयमा कांग्रेस भित्र विवाद रहेको देखाएको हो ।

प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रहेकाले पार्टीले अहिले नै केही नबोल्ने भनेका थिए । उनले अनुसन्धानबाट दोषी ठहरिए सिस्टमले नै कारबाही गर्ने अभिव्यक्ति सञ्चारकर्मीमाझ राखेका थिए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानकै क्रममा छ, अनुसन्धानको दायरामा रहेको विषयमा अहिले नै को दोषी को निर्दोष भन्ने मिल्दैन, अनुसन्धानको निष्कर्ष आएपछि दोषीलाई सिस्टमले आफैं कारबाही गर्छ,’ सरकारका अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता महतले पत्रकार भेटघाटमा भनेका थिए ।

तर, महामन्त्री थापाले भने प्रवक्ताको धारणाको ठ्याक्कै उल्टो अभिव्यक्ति दिएका हुन् । थापाले आफ्नो धारणालाई पार्टीको आधिकारिक धारणासमेत भनेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने भनेका हुन् ।

‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन, पार्टीका तर्फबाट हामीले भन्ने यति मात्र हो, अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ, दोषी र निर्दोष छुट्टयाउने कानुनी प्रक्रियाबाट हो,’ कांग्रेस महामन्त्री थापाले भनेका छन् ।