८ जेष्ठ २०८१, मंगलवार

विदेशमा निधन भएकाको रकम ठगी गर्ने गिरोह सार्वजनिक

baideshik rojgari thagi

वैदेशिक रोजगारीमा क्रममा निधन भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् । उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा गई निधन भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा निधन भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको र त्यसबापत उनीहरुले प्रतिमृतक रु सात लाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गर्नुभयो । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरुको खोजतलास थालेको थियो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा निधन भएकाको परिवारले रु १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा रु १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था छ ।

उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...