२० बैशाख २०८१, बिहीबार

‘एमाले त ढुंगामाथि बसेर मुर्चंगा बजाएर आनन्द लिईरहेको छ’

kp oli 1

१६ चैत्र २०७९, बिहिबार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश निकै जटिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको उनको आरोप छ ।

‘आज देशको अवस्था निकै जटिल छ । अझ बढि गम्भीर, अस्थिर बढेको छ । यसै भन्न सकिने अवस्था छैन् । देशमा अस्थिरता छ । गत मंसिर ४ गते चुनाव भयो । यस विचमा उतारचढाव भए । पुष १० गते एउटा सरकार बन्यो । सरकार परिवर्तन भयो । यथार्थमा सरकार परिवर्तन भयो । तर, सरकारको नेतृत्वकर्ता उही छ ।’–रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ओलीले भने–‘सरकार परिवर्तन भयो, तर प्रधानमन्त्री उही छ । सरकारको नेतृत्व उही छ । नीति र विचार परिवर्तन भयो । व्यक्ति उही छ । यो अमिताभ बच्चनका बुवा हरिवंश राय बच्चनले एउटा कविता लेख्नुभएको छ–मधुशाला भन्ने ।’

ओलीले सो क्रममा हरिवंशको कवितासमेत वाचन गरेका थिए । कविता यस्तो थियो–

कितनी आई और गई पी इस मदिरालय में हाला, टूट चुकी अब तक कितने ही मादक प्यालों की माला, कितने साकी अपना अपना काम खतम कर दूर गए, कितने पीनेवाले आए, किन्तु वही है मधुशाला।।११६।

साक्षात्कारमा यसअघि एमालेसहितको संलग्नतामा बनेको सरकार बदलिएको र मन्त्रीहरु बदलिएको सुनाउँदै भने–‘तर मधुशाला उही छ । अहिलेको स्थिति पनि त्यस्तै छ । नीति नभएको मधुशाला । गन्तव्य नभएको मधुशाला । ग्राहक पर्खिएर बसेको मधुशला । फाईदा र लाभ हेरेर बसेको मधुशला । इमान होईन लाभ हेर्ने मधुशला । देशको स्थ्तिि झन बिग्रिँदै गएको छ । बिग्रिँदो छ । रजानीति छताछुल्ला र भताभुंग छ । अविश्वासको चक्र बढ्दो छ । सरकारप्रति अविश्वास छ । सरकारप्रति विश्वसनियताको खडेरी छ । प्यारामिटर तल झरेको झरै छ । मान्छेको अलिक शरम पचाउने क्षमता पनि वृद्धि भएको भएको देखिन्छ (हाँस्दै) । तर, देशको अर्थतन्त्र ध्वस्त छ । समाज अद्योगतितिर लाग्दैछ । हाम्रा गौरव गर्नलायक सांस्कृतिक मूल्य र मान्यताहरु, रितिरिवाज, हाम्रा संस्कृति, धर्म यी सबै कुराहरु सामान्य कुरा परित्याग गर्न सकिने कुराको रुपमा बुझिँदैछ । अरुका कुरा, इतिहास नभएका कुनै तर्क र तथ्यले पुष्टि गर्न नसक्ने कुरा, क्षणिक भावावेशलाई बढि अंगाल्न सकिने कुरा र प्रवृत्तिहरु सांस्कृतिक र सामाजिक क्षेत्रमा देखिएका छन् । जुन कुरा राष्ट्रको भविष्को लागि चूनौति देखिएको छ ।’

पूर्व प्रधानमन्त्री ओलीले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । उनले थपे–‘स्वाधिनता कमजोर बनेको छ । कसले चुनाव जित्छ भन्ने चर्चा छ भने बाहिरबाट चुनाव जिताउन खोजिएको छ, त्यसकारणले त्यसले जित्छ भन्ने छ । स्वाधिनता साँच्चै नै कमजोर हालतमा पुगेको छ। चिन्ताको विषय हो । हाम्रो देश अहिले अप्ठ्यारो अवस्थामा छ । नेपालको भौगोलिक अखण्डता, हाम्रो भूमि खुम्चिँदो छ । हाम्रो सिमा मिचिँदो छ । सरकार मौन छ । यसमा बोल्यो भने उसको सत्ता धरापमा पर्नसक्छ । राष्ट्रियता, अखण्डता अप्ठ्यारोमा छ । देशको पक्षमा बोल्न सक्दैन् । सरकार राष्ट्रको पक्षमा बोल्दैन । त्यस्तो सरकारलाई देशको सरकार भन्न सकिँदैन् ।’

ओलीले सरकारले कमसेकम देशको जमिन कहाँ–कहाँ मिचिएको छ, या छैन् ? भन्ने कुरा भन्न सक्नुपर्ने औंल्याए । उनले भने–‘हाम्रो भौगोलिक अण्खडताको विषयमा सरकारले बोलोस । भोलि क्लबको यही कार्यक्रममा प्रधानमन्त्री बोल्ने कार्यक्रम रहेछ, उहाँले बोल्नुहोस । हाम्रो भूमि अतिक्रमित भएको छ कि छैन् ? या के हो ? खुलस्त भन्नुहोस । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँ यहाँ त बोल्न सक्नुभएको छैन्, विदेशमा के बोल्नुहुन्छ ? उहाँ आफ्नो जमिनको दाबेदारी गर्नुहुन्छ कि ताबेदारी भन्ने प्रश्न आउँछ।’

ओलीले देशको आर्थिक अवस्था पनि खस्कँदो रहेको टिप्पणी गरे । उनले भने,‘अहिले विकास पनि अघि बढेको छैन । विकास पछाडि धकेलिएको छ । वैदेशिक मुद्राको सञ्चिती नाजुक अवस्थामा छ । आर्थिक तरलता उस्तै अभाव छ । बैंकसँग पैसा छैन् । काम गरेका ठेकेदारलाई पैसा दिने सरकारसँग पैसा छैन् । नयाँ उद्योग स्थापना गर्ने अवस्था छैन् । रोजगारीको अवस्था सिर्जना कहाँबाट गर्नुहुन्छ ? कागजमा लेखेर हुँदैन् । सरकारले त्यो कुरा भन्नुपर्यो । उद्योग स्थापना केही गर्न सक्नुहुन्न । कृषिको आधुनिकीकरण सक्नुहुन्न । अरु क्षेत्रमा बजेट काटिएको छ । हरेक चिजको मूल्य बढेको छ । जनतालाई मार परेको छ । दिनदिनै मूल्यवृद्धि बढेको छ । देशको अवस्था अत्यन्तै नाजुक छ । अहिले यो अत्यन्तै आर्टिफिसियल एउटा, विभिन्न पार्टपुर्जा जोडिएको कृत्रिम सरकार अप्राकृतिक ढंगले बनेको छ । यसमा न विचार मिल्छ, न सिद्धान्त मिल्छ, न कार्यक्रम मिल्छ । फेरि पनि सरकार बनेको छ । सरकारको एउटा गन्तव्य हुनुपर्छ । के कोलागि बनेको ? के गर्न खोजेको भन्ने ? तर त्यो केही छैन् ।’

उनले सत्ता गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठाए । उनले भने,‘यस्तो अवस्थामा नितान्त अवसरको फाईदा लिएर । अब एक ढंगले भन्ने हो भने हाड र छालामात्रै बाँकी रहेको देशबाट, त्यसबाट पनि सिरिन्च घुसारेर लामखुट्ले जस्तो रगत निकाल्न खोजिएको छ । जसले देशलाई अझ आरोलो लग्छ । यस्तो अवस्थामा सञ्चार क्षेत्रको अझ महत्व छ। जनतालाई सही सूचना दिनुपर्छ । यी काम गर्नुपर्छ । सञ्चारमाध्यमलाई देशको हितको पक्षमा प्रयोग गर्न सक्नुपर्छ । आफ्ना संकिर्ण स्वार्थलाई महत्व दिएर देश र जनताको हितलाई गौण बनाईयो भने सञ्चभारमाध्यमको भूमिका सकारात्मक भन्न सकिँदैन् । मिडियाले देश र जनताको हितमा आफ्नो भूमिका खेल्नुपर्छ ।’

माओवादीको जनयुद्धकोप्रति ओलीको आक्रामक अभिव्यक्ति

ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिए । उनले भने,‘देशमा आज अनेक प्रकारका दृश्यहरु देखिए । देशमा अप्रिय हिंसात्मक क्रियाकलापहरु ०५२देखि ०६२ मा खुलेर भए । त्यसपछि ०७२ सम्मपनि अप्रिय काम भए । तिनको हामीले मूलतः केही चरणमा व्यवस्थापन गर्यौं । एउटा १२ बुँदे समझदारीमार्फत व्यवस्थापन गर्यौं । ०६३ साल बैशाख ११ को घोषणामार्फत जनताको अधिकार जनतामा फर्काएर गर्यौं । ०६३ साल मंसिर ५ गते बृहत्त शान्ति सम्झौतामार्फत गर्यौं । अर्को माओवादीलाई समेत संसद् र सरकारमा सहभागी गरेर गर्यौं । त्यसपछि ०६५ साल जेठ १५ गते राजतन्त्र बिदा गरेर गणतन्त्र घोषणा गरेर गर्यौं । अब शान्ति प्रक्रियालाई पूर्णता दिन बाँकी छ । पीडितहरु छट्पटाईरहेका छन् । क्रान्तिका सपना देखाईएका युवाहरु अहिलेपनि पीडामा छन् । द्धन्द्धको यो वा त्यो पक्ष भन्ने होईन । एकपक्षीय हिंसा र द्धन्द्धले द्धिपक्षीय हिंसा र क्षति हुन्छ । हाम्रो देशमा पनि हजारौं मानिस मारिए । मारिएका परिवारका सदस्य छन् । आफ्ना मान्छेलाई सहिद भन्ने घोषणा गरियो भन्ने सुनिन्छन् । यस्ताखालका विषय राष्ट्रिय विषय होईनन । लाचारी कुरा हो । फागुन १ गते जनयुद्ध दिवस भनियो । त्यो जनयुद्ध होईन । एउटा हिंसा भन्ने थियो । त्यसले द्धन्द्धको रुप लिएको थियो । यस्तो विवादमा पर्नुहुन्न । द्धन्द्ध व्यवस्थापन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक जुन किसिमले अघि बढाईएको छ त्यसले पीडितलाई अझै पीडा दिने काम गरेको टिप्पणी गरे । उनले भने–‘यसले पीडितलाई झन पीडा दिएको छ । मानवअधिकारको विषय, उल्लंघन र हत्या एउटै विषय होईन । सत्ताको दुरुपयोग गर्न खोजिएको छ । जुन कुरामा सहमत हुन सकिँदैन् । हामी उपयुक्त ढंगले अन्तर्राष्ट्रिय मूल्य र मान्यता, सर्वोच्चको फैसला, पीडितले न्याय पाउने सुनिश्चित्ता्, दण्डहिनताको अन्त्यको आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न र शान्ति प्रक्रिया टुँग्याउन चाहन्छौं । संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । परिपूरण र क्षतिपूर्ति र स्वेच्छाले गर्न चाहे मेलमिलाप गरिने हो । मेलमिलापको नाममा गैर मेलमिलापको छुट हुँदैन् । पीडितहरुको आँशु र मर्मलाई हेरेर उनीहरुको समस्या सम्बोधन गर्नेगरि, तिनका समस्यामा मल्हमपट्टी लगाउनेगरि हुनुपर्छ । आफू र आफ्नो कार्यकताको भरणपोषण गर्ने नाममा संक्रमणकालिन न्याय हुँदैन् ।’

उनले छिमेक सम्बन्धदेखि आर्थिक क्षेत्रका प्रश्नको विषयमा सञ्चार जगतले सही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले थपे–‘हाम्रा छिमेक सम्बन्धका प्रश्न होउन, या आर्थिक क्षेत्रका प्रश्न होउन । हामीले कस्तो समाज निर्माण गर्ने हो, यी कुरामा हाम्रो सञ्चार जगतपनि स्पष्ट हुनुपर्छ । सञ्चार जगत स्पष्ट भएन । सही सन्देश, सही सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्छ । क्लबले यी कामहरुलाई प्रभावकारी ढंगले गर्नेछ भन्ने विश्वास लिएको छु । समाजलाई अरु ओरालो लाग्न नदिनको लागि देशलाई सबै हिसाबले माथि उठाउनको लागि । पोलिटिकल करेक्सन आवश्यक छ । अहिले पोलिटिकल करेक्सन भयो भनिएको छ, कोर्स नै च्यातचुत पारेपछि के को करेक्शन । अहिले पोलिटिकल कोर्सको डिस्ट्रक्शनबाट कुनै क्रिएशन हुँदैन् । त्यसकारण नयाँ परिस्थितिको निर्माणको लागि वास्तविक कोर्स करेक्शन हुन जरुरी छ । यसमा मिडियाको साथ रहनेछ ।’

सो क्रममा ओलीले आफ्नो पार्टीको नीति र गरेको कामको पनि फेहरिस्त सुनाए । उनले भने,‘मेरो तर्फबाट म पार्टीको कुरा गर्न चाहन्छु–एमालेको सुखी नेपाली र समृद्ध नेपाल बनाउने अठोट हो । हाम्रो पार्टीको यो गन्तव्य हो । योभन्दा ठूलो गन्तव्य र उद्देश्य अरु केही हुँदैन् । विकासका गतिलाई तिव्रताका साथ अघि बढाउनुपर्छ । हाम्रा विकासका प्रयासहरु सही नीतिका साथ र योजनावद्ध ढंगले अघि बढाउनुपर्छ । देशलाई समृद्ध र आधूनिक बनाउनुपर्छ । उद्योग, कृषि, पूर्वाधार विकासमा, विद्यूत, आईटी सेक्टरमा विकास गर्नुपर्छ । सेवाका क्षेत्र, लोककल्याणका क्षेत्रमा पनि हामीले विकास गर्नुपर्यो । आजको आवश्यकत्ता त्यो हो । त्यसरी समृद्ध नेपाल बनाउन सकिन्छ । सबैलाई समान अवसर उपलब्ध हुनुपर्छ । सामाजिक न्याय र समानता सबैलाई हुनुपर्यो । शान्ति, सुरक्षाको प्रत्याभूति हुनुपर्छ । निर्भय अवस्थामा बाँच्न पाउने वातावरणको ग्यारेन्टी हुनुपर्छ । हामी यी कुरामा लागेका छौं । एमाले लागेको छ। हामी यसमा कुनै सम्झौता गर्न सक्दैनौं । राष्ट्रिय हितको रक्षा गर्ने कुरा हाम्रो निम्ति सर्वाधिक महत्वपूर्ण छ । सञ्चार क्षेत्रलाई सवल बनाउने कुरा । अधिकारको पालनामा मात्रै होईन कर्तव्यपनि पूरा गरोस । पित पत्रकारिता नगरोस । पूर्वाग्रह र पक्षधरता हुनुहुँदैन् । सही सूचना र जस्ताको त्यस्तै सम्प्रेषण गर्नुपर्छ । हामी देशप्रति इमानदार बनौं । देशलाई माया गरौं ।’

उनले मुलुक बनाउने विषयमा सञ्चारमाध्यमको योगदान रहने कुरामा आफूले विश्वास लिएको सुनाए । उनले भने–‘हाम्रा युवामा कुनै अलमल रहनेछैन् । युवा सचेत छन् । देशको स्थिति बुझ्ने र बदल्ने कुरामा युवामा सचेतना छ । हामी भविष्यको आउने पुस्तालाई सुन्दर, विकसित, सुविधासम्पन्न नेपाल सुम्पिन्छौ । यस दिशामा हाम्रा प्रयास लगातार छ । यो अभियान सबैले बढाउनुपर्छ । लोकतन्त्र भनेको हाम्रो अधिकार हो ।’

सो क्रममा पत्रकारले उठाएको प्रश्न–‘संक्रमणकालिन न्याय कसरी टुँग्याउने ? सिमा मिचिएको कुरा उठाउनुभयो ? कसरी हल गर्ने ?’ भन्नेमा ओलीले भने–‘शान्ति प्रक्रिया कसरी टुँग्याउने भनेर तीन÷चार वटा आधार भनेको छु । अन्तर्राष्ट्रिय स्टाण्र्ड अनुसार गर्ने भनेको छु, अन्तर्राष्ट्रिय समूदायलाई पनि मान्य हुनेगरि गर्नुपर्छ । सर्वोच्च अदालतको फैसलाको आधारमा, दण्डहिनताको अन्त्य गरिएको छ । पीडितहरुले न्याय पाउनेगरि भनेको छु । पीडितकेन्द्रित हुनुपर्छ । अहिले गर्न खोजिएको के भने–पीडितलाई न्याय नदिएर, बलजफ्ती सहमति भयो भनेर दबाईएर, राज्यसत्ताको दुरुपयोग गरेर गर्न मिल्दैन् ।’

उनले शान्ति प्रक्रिया टुँग्याउनको लागि यतिको समय लागेकोमा गुनासो पोखे । उनले भने,‘आज १८ वर्ष बित्यो, फाष्ट ट्रयाकको नाममा यसप्रकारको मजाक गर्न पाईन्छ ? प्रक्रियागत छलफल गर्नुपर्छ । २/४ दिनभित्र किन चाहियो ? यस ढंगले चल्न खोजियो भने विरोध हुन्छ । अब यसलाई ठगी खाने भाँडो, जनता अलमलाउने कुरा बनाउनुहुँदैन् । शान्ति प्रक्रिया टुँग्याउनुपर्छ। यसलाई हामीले टुँग्यायौं भन्ने कुरा हुनुपर्छ । पीडितले न्याय पाउनुपर्यो । अहिले क्याम्पसहरु ताला लागेको छ, गुण्डाहरुलाई सरकारले प्रोटेक्शन गरेको छ । सरकारको काम यसले देखाउँछ । कुन मुद्दा फिर्ता लिने ? कसलाई फसाउने ? कसलाई उकास्ने ? यस्तोखालको पनि सरकार हुन्छ ?’

उनले नेपालको भूमि खुम्चिएकोबारे पनि प्रश्न उठाए । उनले भने,‘हाम्रो भूमि खुम्चिएको छ । कानमा यसो साउती गर्ने विषय हो र ? यो सार्वजनिक रूमा नेपाली जनतालाई जानकारी गराउने विषय होईन र ? मित्रहरुबाट गल्ती भयो भन्दापनि खुलेआम भन्नुपर्यो नि । त्यसकारण यो त हेर्नु नै छ । उहाँको भ्रमण त हेर्नुनै छ । तर, के बुझ्नुपर्छ भने क्षणिक कुराले स्थायित्व प्राप्त गर्न सकिँदैन् । नाटक त मञ्चमा एकदेखि डेढ घण्टा हुन्छ । अब पोलिटकल नाटक मञ्चन नगरेपनि हुन्छ ।’

उनले आफूले ०५२ सालदेखि जनयुद्धको विरोध गरेको सुनाए । उनले भने,‘त्यसबेलादेखि नै जनयुद्ध भन्ने कुरा मैले जनयुद्ध होईन भनेर विरोध गरेको छु । र, मैले यसको विरोध लगातार गरेको छु । हरेक दिन उठेर म गायत्री मन्त्र त पढ्दिनँ । जनयुद्ध नै होईन । यो एउटा सेन्टिमेन्टमा लगेर, नेताले जनयुद्धमा लगाईएको थियो । उनीहरुको दोष छैन । नेताहरुे जे गरे, त्यो जनयुद्ध थिएन । त्यो एउटा हिंसा थियो । त्यो हिंसाले द्वन्द्व जन्मायो । उचित भएको भए र जनयुद्ध भएको भए त सफल पार्नुपर्दथ्यो । ०५७ सालको हिमाल खबरपत्रिकामा मैले माओवादी आन्दोलन पनि होईन, समस्या हो त्यसको समाधान गर्नुपर्छ भनेर आर्टिकल लेखेको थिएँ । हामीले कहिल्यैपनि त्यसलाई महान जनयुद्ध भनेका छैनौं । म सरकारमा हुँदाहुँदै, प्रचण्डले एकतर्फी रुपमा फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गर्नुभयो । मैले विरोध गरें । आन्दोलनबाटै हुने कुरा थियो भनेर मैले त्यसैबेला भनेको हुँ । ०६३ मा उहाँहरु हतियार बिसाउनुभयो । अहिले माओवादी जुन कुरामा आएको छ, त्यो कुरा पहिल्यै नै भनिएको छ । बोलिएको छ ।’

उनले मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने,‘अब त्यसमा पनि सरकारको ध्यानाकार्षण गराउने हो । अहिलेपनि म सरकारलाई भन्न चाहन्छु । मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्छ । मिटरब्याजबाट पीडित जो भयो, कसैले पनि मिटरब्याजको कारोबारमा फस्नुभएन । हामी आँफै पनि सचेत हुनुपर्यो नि । त्यो नलिऔं । कानूनविपरित हो भन्ने कुरा थाहा पाएपछि सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । एसिड पीडितलाई न्याय दिने कानून ल्याउने कुरा बदनियतपूर्ण होईन । म सरकारमा हुँदा त त्यो काम गरेको थिएँ ।’

ओलीले अहिलेको प्रचण्डको सरकारको प्रशंसा गर्नुपर्ने र गर्नलायक कुनै कुरा नभएको भन्दै भएको भए आफूलाई बताईदिन पत्रकारलाई चूनौति पनि द्यिए । उनले भने,‘यो सरकारको प्रशंसा गर्नुपर्ने र गर्नलायक केही छ ? छ भने तपाईँ भन्न सक्नुहुन्छ ? २ मिनेटको समय दिन्छु । यो सरकारको त बोल्यो कि आलोचना हुन्छ ।’

उनले आफू सरकारको नेतृत्वमा हुँदा कोभिडको महामारीको बेलामा काम गरेको स्मरण गराए । उनले भने,‘अहिलेको सरकारले केही पनि राम्रो काम गर्न सकेन । आफ्नो लागि अर्थ न व्यर्थको लागि काम गर्छ । फागुन १ गते राष्ट्रिय उत्सव भनेर जनयुद्ध दिवस मनायो, त्यो क्यालेण्डरबाट उडाईनेछ । हिंसा कहिल्यै राष्ट्रिय पर्व हुन्छ ? यस्ता काममा हतारो किन ? सहिद घोषणा गर्न हतारो । यस्ता कुरा गर्यो भने शान्ति प्रक्रिया सहज तवरले टुँग्याउने कुरामा व्यवधान हुनसक्छ ।’

उनले प्रचण्ड र आफूबीचको सहकार्य तोडिनुको रहस्योद्घाट्नसमेत गरे । उनले भने,‘हामीसँग काम गर्न सजिलो छैन् । भ्रष्टाचार गर्न पाईँदैन् । धेरै कुराको अनुसरण गर्नुपर्छ । बुद्धको निधन भएपछि, भिक्षुहरुमध्येबाट भिक्षु सुदर्शन भन्ने निस्किए । बुद्ध मरेर राम्रै भयो त, यो गर र यो नगर भन्नुहुन्थ्यो । अब उहाँको निधन भएपछि त हामी त्यो कुराबाट फ्रि भयौं । कसैलाई मनपरी गर्न पाईने भयो भनेर अहिलेको सरकार खुशी छ ।’

उनले एमाले र कांग्रेस भनेको थानथान र बण्डल बण्डल कपडा भएको र अरु दल टालाटुली भएको टिप्पणी गरे । उनले भने,‘टालाटुली जोडेर पनि बनाउन सकिन्छ, तर पुतली बनाउन सकिन्छ । सुट बनाउन सकिँदैन् । अहिले १० वटा दलको सरकार छ, यस्तै हुन्छ सरकार ? एमाले एक्लैले यस्तो भ्रष्ट होईन, नालायक होईन । विकासको अभियन्ता हो । एक्लै सक्षम छ । एमालेसँग ८० सिट छ । सरकारमा जाऔं जाऔं भनेको छैन् । एमाले त ढुंगामाथि बसेर मुर्चंगा बजाएर आनन्द लिईरहेको छ । हामीलाई सरकारमा जाने हतारो, यस्तो उस्तो होईन । हामी आफ्नो बुतामा राष्ट्रिय शक्ति निर्माण गर्छौं । जसोजसो सरकार बनाएर काम छैन् ।’