४ जेष्ठ २०८१, शुक्रबार

कानून नसुधार्दा एसईई दिने विद्यार्थीलाई डेराकै सास्ती

see
फाइल फोटो

चैत १७ (भोलि, शुक्रबार) देखि देशभर एसईई सुरु हुँदै छ । भोलीबाट हुने माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईईमा यसवर्ष झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।

आफूले पढेको विद्यालयभन्दा टाढा परीक्षा केन्द्र तोकिँदा विद्यार्थीलाई परिक्षासँगै व्यवस्थापनको समेत चिन्ता थपिएको छ । कम्तिमा १० दिनका लागि डेरा लिनुपर्ने र बन्दोबस्तीको समान जुटाउनु पर्दा विद्यार्थी र अभिभावक समेत तनावमा छन् ।

कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेसँगै एसईई अब फलामे ढोका रहेन । यसको पाठ्यक्रमदेखि सिकाइ पद्दतिलेसमेत एसईईको विगतको ओज र ओजन दुबै घटिसकेको छ ।

विद्यालय, विद्यार्थी र अभिभावकले एसईईबारे विगतमा जस्तो चिन्ता लिन छोडेका छन्, किनकी अब माध्यामिक शिक्षा भन्नु कक्षा १२ भएको छ । तर विद्यार्थीले परीक्षा दिनका लागि खेप्नुपर्ने सास्ती भने घटेको छैन । आफूले पढेको विद्यालयबाटै परिक्षा दिनबाट विद्यार्थीहरु बञ्चित छन् । टाढा टाढा राखिने परीक्षा केन्द्रका कारण थप शारीरिक र मानसिक तनाव झेल्नुपर्ने बाध्यता विद्यार्थीमा छ । कतिपयले परीक्षाका लागि डेरा नै लिएर बस्नुपर्छ ।

यसको पिरलोले अविभावकलाई पनि सताएको छ । स्तर, प्रणाली र नतिजाकै शैलीसमेत परिवर्तन हुँदा पनि विद्यार्थीले आफैले पढेको विद्यालयमा परीक्षा दिन नपाउने, टाढा-टाढा धाउनुपर्ने बाध्यता किन ?

राष्ट्रिय परीक्षा बोर्ड भने विद्यमान कानुनकै कारण विद्यार्थीलाई आफूले पढेको भन्दा अन्यत्र विद्यालयमा परिक्षा दिन लगाउनुपर्ने अवस्था रहेको तर्क गर्छ ।

माध्यामिक शिक्षा उत्तिर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी व्यवस्थामा आफ्नै विद्यालयका विद्यार्थी नपर्ने गरी परिक्षा केन्द्र निर्धारण गर्नुपर्ने उल्लेख छ ।

दृष्टिविहिन विद्यार्थीहरुले भने आफैंले पढेको विद्यालयबाटै परिक्षा दिने व्यवस्था मिलाइएको छ । आफूले पढेको भन्दा अन्य विद्यालयमा परिक्षा केन्द्र परेपनि घरबाट पायक पर्ने गरी व्यवस्था गरिएको र डेरामा बस्न नपर्ने दाबी बोर्डको छ ।

यस वर्षको एसईईमा छात्र २ लाख ४२ हजार ६ सय ६२ र छात्रा २ लाख ४२ हजार ७ सय ५ गरी ४ लाख ८५ हजार ३ सय ६७ जना परिक्षार्थी सहभागी हुँदैछन् । २ हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।

जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ भने जहाँ १४ जना विद्यार्थीले परिक्षा दिनेछन् । त्यस्तै ५५ जना दृष्टिविहिन परिक्षार्थीले आफैंले पढेको विद्यालयबाटै एसईईमा सहभागी हुनेछन् ।

यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

मधेस प्रदेशमा पनि तयारी पूरा

मधेस प्रदेशमा एसईईको सबै तयारी पूरा भएको छ ।

गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईईलाई मर्यादित बनाउन मधेस सरकारले तयारी पूरा गरेको जनाएको हो ।

मधेस प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फुयालले मधेसमा यसपटकको एसईईमा २७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थी सहभागी हुने जनाए । उनका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिनेछन् ।

त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुनेछन् । मधेस प्रदेशमा परीक्षालाई मर्यादित बनाउन ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ । परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेस प्रदेश सरकारले जनाएको छ ।

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेसमा एसईईलाई मर्यादित, भयरहित र अनुशासित बनाउन मधेस सरकारले हरसम्भव प्रयास गर्ने जनाए । उनले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय एकाइका प्रमुखहरु, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारीसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरुले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको जनाए ।

मधेसमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तीर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि प्रदेश सरकारले यसपटकको एसईईमा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाका बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए ।

    सम्बन्धित समाचार...