१४ बैशाख २०८१, शुक्रबार

म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले खुम्च्याए : अध्यक्ष ओली

kp oli
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको भूभाग खुम्च्याएको आरोप लगाएका छन् ।

मंगलबार पाल्पामा ग्रासरुट मिशन अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खुम्च्याएको आरोप लगाएका हुन्।

सरकारमा भएकाहरुले देशको रक्षा गर्नुका सट्टा खुम्च्याएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले सरकारमा भएकाहरुले रक्षा गर्नुपर्नेमा देखेको नदेख्यै गरेको जनाएका छन् । आफूले प्रधानमन्त्री छाडेपछि दाहाल र देउवाले मुलुकको सीमा मिचिइरहँदा टुलुटुलु हेरेर बसेको उनको आरोप छ ।

‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भू-भाग नदेखेझैँ गरे। कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्,’ उनले भने।

फरक प्रसंगमा ओलीले अहिलेको गठबन्धनलाई रावणका दश टाउका हुन्छन् भनेकामा चित्त दुखाएको बताउँदै अहिलेको गठबन्धनले राम्रो काम नगरेको ठोकुवा गरे ।

एमालेको ग्रासरुट अभियानअन्तर्गत कार्यक्रममामा ओलीले हरेक पालिका र वडामा ५१ प्रतिशत एमालेका कार्यकर्ता बनाउन आग्रह गरे ।