२३ बैशाख २०८१, आईतवार

शीर्ष नेताहरुबीच भोलि मन्त्रिपरिषद विस्तार गर्ने सहमति

Prachanda deuba nepal

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भोलि (मंगलबार) अपराह्नसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।

सोमबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलका नेताहरुबीच मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

शीर्ष तीन नेताको भेटमा मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तारमा सकस भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुन सकेको छैन । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै दाहाल नेतृत्वको सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् ।