१३ बैशाख २०८१, बिहीबार

केपी ओली भन्छन्- कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको छु

kp oli
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताएका छन् । आज (सोमबार) गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुलाई अनेक जालझेल गरी सरकारबाट हटाइएको बताएका हुन् ।

‘अनेक जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो । नराम्रो काम गरेर होइन । काम गर्न नसकेर पनि होइन । सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाए,’– अध्यक्ष ओलीले भने ।

साथै, अहिलेको संविधान एमालेको पहलमा बनेको उनको दाबी छ । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको उनले बताए । संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भएपनि कांग्रेस इमानदार नभएको उनको दाबी छ । उनले कांग्रेस अहिलेसम्म इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको आरोप लगाए । कांग्रेसका सबैभन्दा इमानदार र सोझा नेता भनेर चिनिएको शुसिल कोइराललेसमेत एमालेसँगको सहमति कार्यान्वयन नगरेको उनको आरोप छ ।

‘संविधान बनाएपछि एमालेले नेतृत्व गर्ने भन्ने सहमति भएको थियो । तर, कांग्रेसले त्यो सहमति मानेन, तोड्यो । कांग्रेस सहमति मान्दैन, इमानमा रहँदैन, बेइमानी गर्छ भन्ने कुरा सुशिल कोइराला बडा इमानदार सोझा र राम्रा नेता भनिन्यो । के का सोझा हुनु ? परेको बेला त मलाई याद छैन, थाहा छैन, सम्झौता नै सम्झना छैन भन्दिने । होइन भन्दिने । कांग्रेसले बेइमानी गर्नसक्छ भन्ने कुरा अहिले थाहा पाएको हैन, सानै छदादेखि थाहा पाएको छु,’– उनले भने ।