८ बैशाख २०८१, शनिबार

दशकौंदेखि सुनसान देशकै दोस्रो ठूलो रंगशाला

narayani stidium

देशका विभिन्न जिल्लामा अहिले फुटबल प्रतियोगिताहरू चलिरहेका छन् । मैदानमा फुटबल प्रेमीहरूको थामिनसक्नु भीड देखिन्छ । तर वीरगन्जस्थित नेपालकै दोस्रो ठूलो नारायणी रंगशाला दशकौंदेखि सुनसान छ । २०४२ सालमा बनेको यो रंगशाला संरक्षण अभावका कारण जीर्ण बनेको छ ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा वीरगन्जमा फुटबल र क्रिकेट मैदान तथा कभर्डहल बनाउन भनेर ०३८ सालमा १७ बिघा १० कट्ठा जमिन खरिद गरियो । केही जग्गा अधिग्रहणसमेत गरेर ०४२ सालमा देशकै दोस्रो ठूलो नारायणी रंगशालाको तत्कालीन राजा वीरेन्द्रबाट उद्घाटन गराएर यहाँ तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गराइएको थियो । त्यसपछि पनि केही ठूला खेलहरू खेलाउने अवसर यो रंगशालाले पायो । तर पछिल्लो दुई दशकदेखि भने यहाँ ठूला खेलकुद प्रतियागिताहरू भएका छैनन् । यति ठूलो रंगशाला जीर्ण हुँदा पनि तीनै तहका सरकारले चासो नदेखाएकोमा खेलप्रेमीहरू निराश छन् ।

वीरगन्ज क्षेत्रका केही खेलाडी आफ्नै बलबुँतामा राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । विगतमा राष्ट्रिय खेलकुद, तेजबहादुर गोल्ड कप, लक्ष्मण थापा स्मृति गोल्ड कप, एएफसी यू-१६ छनोट प्रतियोगिता र स्व.विशाल मेमोरियल गोल्ड कपजस्ता राष्ट्रस्तरका प्रतियोगिता आयोजना भएको रंगशाला पुनर्जीवनको पर्खाइमा छ । मधेस प्रदेशभर नारायणी रंगशालाजत्तिको पूर्वाधार र जग्गा अन्त कतै छैन । तर ठूलो मर्मतसम्भार नगरी रंगशालामा कुनै खेल आयोजना गर्न सक्ने सम्भावना छैन ।

मुलुककै प्रमुख आर्थिक तथा व्यापारिक नगरी भएर पनि खेलकुद पूर्वाधारको संरक्षण र मर्मतसम्भार नहुँदा खेलकुदमा वीरगन्ज पछाडि छ। नारायणी रंगशालाको अवस्था झन्-झन् बिग्रिँदै जाँदा दुर्घटनाको जोखिम बढेको छ । वीरगन्जमा अहिले खेल अभ्यास गर्ने ठाउँ पनि छैन ।

२५ हजार दर्शक अट्ने यो रंगशाला मर्मतसम्भारका लागि डीपीआर भइसकेको र २ अर्ब ६४ करोड खर्च हुने अनुमान भएपनि खेलकुद मन्त्रालयले भने ५० लाख, १ करोड, २ करोडजस्तो खुद्रे बजेट दिने गरेको छ ।

    सम्बन्धित समाचार...