२३ बैशाख २०८१, आईतवार

स्थिरताको वाचा गरेका एमाले र राप्रपा नै अस्थिरतातर्फ अग्रसर भए- प्रधानमन्त्री

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील भएको अवस्थामा एमाले र राप्रपाले असहयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले स्थायित्वको बाचा गरेका दुई दल नै अस्थिरतातर्फ अग्रसर बनेको टिप्पणी गरे ।

‘म सरकार बाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील थिएँ । तर राष्ट्रसामू स्थिरताको प्रतिबद्धता जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो ।’ दाहालले भने ।

राजनीतिक स्थिरताको संकल्पसहित एमाले, राप्रपासँगको गठबन्धनमा सरकार गठन गरिएको तर आफूले राष्ट्रिय सहमतिको राष्ट्रपति चयनका लागि प्रस्ताव गर्दा एमाले र राप्रपाका मन्त्रीहरुले अचानक राजीनामा दिएको दाहालको भनाइ छ ।

‘प्रधानमन्त्री र मन्त्रीहरुबीच न ठूला कुनै नीतिगत मतभेद देखिएका थिए, न कार्यशैलीगत मतभेद नै । व्यक्तिगत सम्बन्धहरु सुमधुर थिए र अहिले पनि छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिका लागि आफूले गरेको प्रस्तावमा अचानक एमाले र राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो । र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो । यसरी संविधानअनुसार फेरि विश्वासको मत लिन आवश्यक बन्न गयो ।’

प्रधानमन्त्री दाहालले फेरि विश्वासको मतका लागि यति छिटै संसदसँग अनुरोध गर्ने अवस्था आउँला भन्ने आफूले नसोचेको उल्लेख गरे ।

उनले सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णय गर्ने दल र निर्णय गर्ने माननीयहरुले नै गर्नु पर्ने उल्लेख गरे । ‘यो कति राजनीतिक र जिम्मेवार निर्णय भयो । त्यसको जवाफ पनि उहाँहरुले नै दिनुहोला,’ दाहाले भने, ‘तर पनि मलाई के कुरामा खुशी छ भने साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्री वा सरकारको यो गलत निर्णयले गर्दा हामीले विश्वासको मत फिर्ता लिनु पर्‍यो भन्नु भएको चाहिँ छैन ।’