१६ बैशाख २०८१, आईतवार

कीर्तिमानी जित नेपालको पपुवा न्युगिनीमाथि, अब युएईलाई हराए विश्वकप छनोटमा

333479228 1359094391535757 8357816074937618434 n

आईसीसी विश्व क्रिकेट लिग टूअन्तर्गत नेपालले ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । नेपालले पपुवा न्युगिनी (पीएनजी) ले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ सेखले अविजित ५३ रनको विस्फोटक अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा ८ चौका र तीन छक्का हिर्काए । कुशल भुर्तेलले १४ बलमा ३३ रन हाने । उनले चार चौका र दुई छक्का हाने । कुशल मल्ल १३ रनमा अविजित रहे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले पपुवा न्युगिनीलाई ३२ ओभरमा ९५ रनमा अलआउट गरेको थियो । सन्दीप लामिछानेले ५ विकेट हात पारे । १० ओभर बलिङ गर्दा सन्दीपले १ मेडन राख्दै २५ रन खर्चिए । योसँगै उनी एक दिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी एक सय विकेट लिन दुई विकेटले पछि छन् ।

सोमपाल कामी र ललित राजवंशीले पावर प्लेमा कसिलो बलिङ गर्दै सानदार सुरुवात दिलाएका थिए ।

बायाँ हाते स्पिनर राजवंशीले चौथो ओभरमा ओपनर किप्लिन डोरेगालाई बोल्ड गरे । डोरेगाले २ रन बनाए । सातौं ओभरको पाँचौं बलमा सोमपालले अर्का ओपनर हिरी हिरीलाई आउट गरे । १४ रन बनाएका हिरी हिरी करण केसीको हातबाट क्याच आउट भएका हुन् ।

सन्दीपले सेसे बाउलाई बोल्ड आउट गरे । बाउले १८ रन बनाए । २० रन बनाएका कप्तान असाद भाला र १६ रन बनाएका चार्ल्स अमिनी सन्दीपकै बलमा आउट भए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालले विकेटका हिसाबले हात पारेको यो सबैभन्दा ठूलो जितअन्तर हो । यसअघि लिग टूअन्तनर्गत नै अमेरिकालाई त्रिविमा ३६ रनमा अलआउट गर्दा नेपालले ५ ओभर २ बलमा लक्ष्य भेटेको थियो । उक्त खेलमा सन्दीपले ६ विकेट लिएका थिए ।

कुशल मल्ल र ललितले दुई-दुई विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्‍यो । नेपाल सीधै विश्वकप क्रिकेटको ग्लोबल छनोट पुग्न अब एक अंक टाढा छ । नेपालले यूएईलाई पराजित गरे ४० अंक हुनेछ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ ।

    सम्बन्धित समाचार...