७ बैशाख २०८१, शुक्रबार

ऐतिहासिक जित निकाल्दै नेपाल विरासत फर्काउन सफल

331914031 1253037118928118 7203737135570676828 n

नेपालले आईसीसी विश्व क्रिकेट लिग टु मा यूएईमाथि १७७ रनको कीर्तिमानी जित हात पारेको छ । कप्तान रोहित पौडेल र ललितनारायण राजंवशीले उत्कृष्ट प्रदर्शन गरेसँगै यो जितपछि नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाएको छ ।

तीन साताअघिसम्म नेपालको एक दिवसीय मान्यता संकटमा थियो । १ महिना अघिसम्म लिग टुको अंक तालिकामा दयनीय अवस्थामा रहेको नेपालले छोटो अन्तरालमा अंक तालिका सुधार मात्र गरेन एशोसियट क्रिकेटमा आफ्नो विरासत समेत फर्काउन सफल भएको छ ।

राष्ट्रिय क्रिकेट टोली भित्र एकताको अभाव, नेपाल क्रिकेट संघ र खेलाडीबीचको विवाद, अस्थिर प्रशिक्षक र कप्तान परिवर्तन जस्ता मैदान बाहिरका घटनाले मैदान भित्र समेत नेपालको प्रदर्शन लगातार खस्किरह्यो । यसले क्यानसमेत एक पछि अर्को आलोचना खेप्न बाध्य भयो भने दर्शकमा समेत चरम निराशा छाइसकेको थियो । मैदानबाहिर र भित्र दुवै ठाउँमा संघर्ष गरिरहेको नेपाली क्रिकेटको नेतृत्व सम्हाल्न आए भारतीय प्रशिक्षक मोन्टी देसाई।

लिग टु को अन्तिम ३ सिरिज अगाडि मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका देशाईको पहिलो चुनौती नै नेपालको ओडिआई मान्यता जोगाउनु थियो । जहाँ उनी सफल भए । मोन्टीको प्रशिक्षणमा खेलाडीमा पनि जितको भोक देखिन्छ । यो १ महिनाको अन्तरालमा अहिलेसम्म नेपालले ३ वटा सिरिजमा १० खेल खेल्दा ९ खेल जितेको छ । खेलाडीसँगै प्रशिक्षक मोन्टी देशाईलाई यो जितको श्रेय जान्छ ।

विश्व क्रिकेट लिग टु मा १२ खेल खेल्न बाँकी हुँदा ओडीआई जोगाउन ९ जित आवश्यक थियो । त्यही बीचमा पछिल्ला शृंखला सुरु गरेको नेपाल अहिले शीर्ष तीनको सम्भावना नजिक छ । यूएईविरुद्ध एक सय ७७ रनको कीर्तिमानी जितपछि नेपालले ओडीआईले सन् २०२७ सम्म निरन्तरता दिएको छ ।

२०१८ मा आईसीसी एक दिवसीय विश्वकप छनोटको सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो ।

टिममा एकता नहुनु, प्रशिक्षकमा अस्थिरता, कोरोनाको कहर लगायत कारणले नेपालको ओडीआई मान्यता चार वर्षमै गुम्ने सम्भावना उच्च बन्यो । २४ खेल खेलिसक्दा मात्रै १८ अंक जोडेपछि एक दिवसीय कसरी जोगिन्छ भन्ने प्रश्न उब्जिएको थियो । नेपालले खराब ब्याटिङकै कारण लिग टुका धेरै खेल गुमायो ।

तर, प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपालको ब्याटिङ, फिल्डिङ र बलिङमा पनि उत्कृष्ट कमब्याक भएको छ । नेपालले पछिल्ला १० खेलमा ९ मा जित दर्ता गरी थप १८ अंक जोडेर लिग टुमा पनि उत्कृष्ट कमब्याक गरेको छ । र लिग टुका दुई खेल बाँकी हुँदै ओडीआई मान्यतालाई निरन्तरता दिएको छ ।

आइतबार युएईविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । प्रशिक्षक मोन्टीले ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदै गुल्सन झा र ललित राजवंशीलाई प्लेइङ इलाभेनमा समावेश गरेका थिए । टस जितेर पहिले ब्याटिङमा आएको नेपालले कप्तान रोहितको ७७ रनको उत्कृष्ट इनिङसको मद्दतमा दुई सय ४८ रन बनायो ।

आरिफ शेखले ४८, गुल्सन झाले ३७ र दिपेन्द्र सिंह ऐरीले ३४ रन जोडे । जवाफमा उत्रिएको युएई ७१ रनमा समेटियो । युएईलाई कम रनमा रोक्न ललितको बल किफायती बन्यो । उनले यूएईका खतरनाक ब्याटर रहेका भृत्या अराबिन्द, पाकिस्तान प्रिमियर लिगमा उत्कृष्ट ब्याटिङ गरेर तहल्का मच्चाएका मोहम्मद वासिम र युवा अफ्जल खानको विकेट लिए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्दा पाँच विकेट लिएका थिए ।

योसँगै नेपालबाट एकै खेलमा पाँच विकेट लिने उनी सोमपाल, सन्दीप र करण केसीपछिको चौथो खेलाडी बनेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट पुनरागमन पनि गरेका छन् । लेग स्पिनर सन्दीप लामिछानेको दुइ विकेट सँगै ३९ ओडीआई खेलबाट ९३ विकेट पुगेको छ। सन्दीपले ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट लिने विश्व कीर्तिमान बनाउन सक्छन् । हाल अफ्गानिस्तानका रासिद खान ४४ खेलबाट १०० विकेट लिने खेलाडी हुन् ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रनमा अलआउट भयो । नेपालको सुरुवात निकै खराब थियो । नेपालले सात ओभर एक बलमा टिमको स्कोर २२ रन हुदा तीन विकेट गुमायो । आसिफ सेख शून्य, कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रनमा आउट भए ।

चौथो विकेटका लागि कप्तान रोहित र भीम सार्कीबीच ५४ रनको साझेदारी भएपछि इनिङस सम्हालिएको थियो । भीमले २९ रन जाडे । पाँचौं विकेटका लागि रोहितले आरिफ सेखसँग ८६ रनको साझेदारी गरेका थिए । रोहित १ सय १२ बलमा ९ चौकासहित ७७ रन बनाएर आउट भए । रोहितको ओडीआईमा यो आठौं अर्धशतक हो । यो सँगै उनी नेपालका लागी सर्वाधिक अर्धशतक बनाउने खेलाडी बने ।

आरिफले ४३ रन बनाए । गुलशन झाले ३२ बलमा ३७ र दिपेन्द्रसिंह ऐरिले १९ बलमा ३४ रनको बिस्फोटक पारी खेले । आयान खान, रोहन मुस्तफा, जाहुर खान, जावर फरिदले दुई दुई विकेट लिए । जवाफी ब्याटिङ थालेको यूएई २२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्रै ७१ रनमा समेटियो ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि यूएईका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । तीन खेलाडीले खाता खोल्न सकेनन् । ललितले सर्वाधिक पाँच विकेट लिए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्दा २० रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एक एक विकेट हात पारे । नेपालले ओडिआईमा हात पारेको यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

यसअघि पपुवान्युगीनीविरुद्ध १ सय ५१ रनको जित अन्तरको कीर्तिमान नेपालले तोडेको हो । जितसँगै नेपालले ओडीआई मान्यतालाई निरन्तरता दिँदा यूएईले भने शीर्ष पाँचमा रहँदै सिधै ओडीआई मान्यता जोगाउने अवसर गुमाएको छ । नेपलले यूएईलाई पराजित गरेसँगै अमेरिकाले भने पाचौं स्थानमा रहँदै ओडीआई मान्यता बचाउने पक्का भयो ।

कप्तान पारस खड्काको नेतृत्वमा नेपालले एक दिवसीय मान्यता पाएको थियो । त्यसपछि ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने हुँदै रोहितले नेपालको नेतृत्व सम्हालेका छन् । योसँगै आगामी ४ वर्ष नेपाल ओडीआई राष्ट्रका रुपमा रहनेछ । अब पपुवा न्युगिनी र युएईलाई हराए नेपाल तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ । नेपालको जितले अमेरिकाको पनि ओडीआई पक्का भएको छ।

४ वर्षका लागि ओडीआई मान्यता त जोगियो अब नेपालको अर्को लक्ष्य भनेको विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनु हो । यसका लागि नेपालले अब बाँकी २ वटै खेल जित्नु पर्ने हुन्छ । लिग टु को अंक तालिकाको शीर्ष ३ मा पर्न सकेको खण्डमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ । यसका लागि नेपालले सोमबार पिएनजी र बिहीबार पुनः युएईसँग खेल्नेछ ।

    सम्बन्धित समाचार...