१४ बैशाख २०८१, शुक्रबार

टुक्रैटुक्रामा रहेका माओवादी द्दन्द्वकालीन मुद्दाका कारण जुट्लान् त अब ?

maobadi maoist
फाइल फोटो

द्वन्द्वकालका घटनालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी धारका ९ दल मोर्चाबन्दीको प्रयासमा छन्। र, त्यसको अगुवाई गरिरहेको छ, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले।

द्वन्द्वकालका घटनाको छिनोफानो शान्ति सम्झौता विपरित गर्न खोजिए ‘प्रतिरोध’ गर्ने चेतावनी दिएका ९ वटै दलको मूल स्रोत भने पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टी नै हो, जसको नाम फेरिरहन्छ।

अहिले चाहिँ नेकपा (माओवादी केन्द्र) छ। यसकै हाँगा हुन् अरु सात दल। जसलाई जुटाएर प्रधानमन्त्रीसमेत रहेका दाहालले आफूविरुद्धको संभावित खतरा टार्न वा सार्न खोजेका छन्।

पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन एकीकृत माओवादीबाट २०६९ मा बाहिरिएपछि मोहन बैद्य समूहले नयाँ पार्टी बनायो नेकपा (क्रान्तिकारी माओवादी।

बैद्यबाट अलग भएर विम्लबले २०७१ मंसिर १३ मा नेकपा बनाउनुभयो। र, विप्लबबाट चोइटिएर २०७९ बैशाख २६ मा बन्यो धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)।

बाबुराम भट्टराईले २०७२ असोज ९ मा माओवादी छाड्नुभयो । त्यसपछि ०७३ जेठ ३१ नयाँ शक्ति, २०७६ बैशाख २३ मा संघीय समाजवादी, ०७७ वैशाख १० मा जसपा हुँदै २०७९ साउन २१ देखि नेपाल समाजवादी पार्टीको नेतृत्वमा हुनुहुन्छ। र, भट्टराईको पार्टी माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारीमा छ।

दाहाल नेतृत्वको पार्टीबाट बाहिरिएका विश्वभक्त दुलालले २०७५ बैशाख २२ गते बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बनानुभयो । २०७४ पुस ११ गते गते गोपाल किरातीले माओवादी केन्द्र पुनर्गठन गर्नुभयो । किरातीले पुनर्गठन गरेको त्यही पार्टी अहिले नाम फेरेर नेकपा (माओवादी समाजवादी) भएको छ। र, नेतृत्वमा छन् कर्णजित बुढाथोकी ।

माओवादीबाट चोइटिएर बनेको माओवादी कम्युनिष्ट पार्टी नेपालको नेतृत्वमा रामनारायण पाल छन् । यता माओवादीबाट एमाले हुँदै २०७९ पुस १४ मा प्रभु साहले आम जनता पार्टी गठन गर्नुभएको छ ।

प्रतिरोधी समूहका ९ दलमध्ये प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र चन्द नेतृत्वको नेकपाको मात्रै गतिविधिका हिसावले पहिचान छ। अरु ७ दल निष्क्रियजस्तै छन्।

र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री रहेको सरकारलाई दवाव दिलाउन भन्दै बालुवाटारमा पछिल्लो समय दैनिक जसो पूर्वमाओवादीका नेताहरुसँग छलफलमा हुनुहुन्छ । अनि द्दन्द्वकालीन मुद्दा अदालत लगिएकोमा प्रतिरोधका लागि सरकारलाई चेतावनी दिन उनै प्रचण्ड नेतृत्वमा पूर्व माओवादीहरु एक हुँदैछन् । जेसुकै नाममा होस् नेताहरु एक हुने अवस्थामा पुगेपछि कार्यकर्ता चाँही उत्साहित छन् ।

जब जब आफुमाथि संकटको घेरा लाग्छ, तब तब प्रचण्डले पूर्वमाओवादीबीचको एकता सम्झने गर्नु भएको छ ।

द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा प्रचण्डविरुद्धको रिटमाथि धमाधम सुनुवाइ भएसँगै माओवादी धारका पार्टीबीच फेरि एकताको बहस चुलिएको छ । एमालेमा रहेकाबाहेकसँग प्रचण्ड निरन्तर संवादमा हुनुहुन्छ । नेताहरुले प्रचण्डको प्रयासलाई सकारात्मक भनेका छन् ।

अहिले प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि पूर्वमाओवादीहरू फेरि एकैठाउँमा आउने आधार बनिरहेपनि तत्काल सम्भव भने नरहेको नेताहरु बताउँछन् । अदालतमा दर्ता भएको मुद्दा प्रचण्डविरुद्ध भए पनि उहाँको विरुद्धमा मात्रै नभएको माओवादी धारका नेताहरुको बुझाइ छ ।

तत्कालीन बहुदलीय व्यवस्थाविरुद्ध २०५२ मा शुरु भएको माओवादी आन्दोलन शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गर्यो । सँगै विभाजनको बिउ पनि रोपियो । हाल टुक्रैटुक्रामा रहेका माओवादी द्दन्द्वकालीन मुद्दाका कारण तर्सिएरै किन नहोस् एउटै मञ्चमा देखिँदा कमजोर भएको माओवादी आन्दोलन एकीकृत हुने सम्भावना त बढेको छ नै, माओवादी बलियो बन्दा आगामी निर्वाचनपछि संसदीय राजनीतिमा देखिएको छेपारे प्रवृत्ति पनि निरुत्साहित हुने बाटो पनि तय हुन्छ की, हेर्न बाँकी छ ।