२१ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनको बैठक बालुवाटारमा जारी

gath

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने दिन आजलाई तोकेपछि उम्मेदवार टुंग्याउन दलहरुबीच छलफल भइरहेको हो ।

सत्ता गठबन्धनबीच उपराष्ट्रपतिको पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन । उपराष्ट्रपतिको पदमा गठबन्धनबीच उम्मेदवार टुंगो नलाग्दै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेको छ । जसपाले गठबन्धनबीच यो विषय निर्णय भइसकेको भन्दै यादवलाई अघि सार्दा गठबन्धन दलकै जनमत पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबाटै ममता झालाई अघि सारेको छ ।

उता गठबन्धनकै अर्को दल नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपति पदमा अघि सारेको छ । हिजो (शुक्रबार) बसेको उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले रञ्जितालाई उपराष्ट्रपति पदमा अघि सार्ने निर्णय गरेको थियो । यद्यपि उपराष्ट्रपति पदका लागि ४५ वर्ष पुग्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनी यसमा उमेरकै कारण योग्य छैनन् ।

गठबन्धन दलकै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले हिजो (शुक्रबार) उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने आफ्नो पार्टीको चाहना रहेको आशय व्यक्त गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि शुक्रबार बोडेगाउँ पुगेर उपराष्ट्रपतिका लागि दलहरुबीच कुनै सहमति भइनसकेको जनाएका थिए ।

दलहरुबीच उपराष्ट्रपति पदका लागि छुट्टाछुट्टै धारणा र उम्मेदवारहरु सार्वजनिक भइरहँदा बालुवाटारमा भेला भई यसलाई टुंग्याउने तयारी गरेका हुन् ।

उता संसद्‌को दोस्रो ठूलो दल नेकपा एमालेले समेत उपराष्ट्रपतिको उम्मेदवार तय गरेको छैन । यसका लागि एमालेले आजै सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले चैत ३ गते हुने चुनावका लागि उपराष्ट्रपति पदको उम्मेदवारी मनोनयन आज (शनिबार) गर्दै छ ।