२० बैशाख २०८१, बिहीबार

पहिले नै भद्र सहमति भइसकेको छ जसपालाई उपराष्ट्रपति दिने विषयमा शीर्ष नेताहरुबीच : प्रदीप यादव

pradeep yadav 1

जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद प्रदीप यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा शीर्ष नेताहरुबीच पहिले नै भद्र सहमति भइसकेको खुलासा गरेका छन् ।

‘प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच जसपालाई उपराष्ट्रपति दिने भद्र सहमति भइसकेको छ । शीर्ष नेताहरुबीचको सहमति आठ दलीय गठबन्धनका केही घटकले थाहा नपाउनु अलग कुरा हो । यसमा इफ, बट, किन्तु, परन्तु केही छैन । जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवारका रुपमा अघि सारिसकेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै यादवले भने ।

आठ दलीय गठबन्धनमा कुराकानी नगरी जनमत पार्टीले आफूखुसी उपराष्ट्रपतिको उम्मेदवार अघि सारेको आरोप पनि उनले लगाए । यादवले थपे, ‘जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार किन अघि सार्‍यो, म जवाफ दिन सक्दिनँ । गठबन्धनमा बसिसकेपछि सल्लाह र सहकार्य गरेर उम्मेदवारी दिनुपर्छ । बैठकमा आफ्नो कुरा राख्नुपर्छ । गठबन्धनमा पनि बस्ने अनि आफूखुसी निर्णय लिन मिल्दैन । मलाई लाग्छ, आज बिहानको बैठकमा रामसहायप्रसाद यादवको उम्मेदवारीमा शतप्रतिशत सहमति हुन्छ । यसमा शंका छैन ।’

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा महिला र पुरुषलाई लडाउने काम भइरहेको आरोप पनि यादवले लगाए । उनले भने, ‘निर्वाचन आयोगको विज्ञप्तिमा महिला नै हुनपर्छ भनेर लेखिएको छैन । त्यसैले महिला र पुरुष लडाउने काम नगरौं । संविधानको आफूखुसी व्याख्या नगरौं । संविधानको धारा १७ र ऐनमा प्रस्ट व्यवस्था छ ।’

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त महिला नै हुनुपर्छ भनिरहनुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘उपराष्ट्रपति महिला भए बेटर हुन्छ भन्नु ठीकै हो । देव गुरुङले पनि पार्टी अध्यक्ष प्रचण्डसँग सोधेर बोल्नु उपयुक्त हुन्छ । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने कुरामा कुनै दरार आउँदैन ।’ उपराष्ट्रपति निर्वाचन र सरकार विस्तारपछि मधेसवादी पार्टीहरुको समाजवादी मोर्चा बन्ने ठोकुवा पनि उनले गरे ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्न लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा यादवले भने, ‘यो उपेन्द्र यादवको व्यक्तिगत इच्छा होइन, जनताको इच्छा हो । गणतन्त्र र संघीयतामाथि निरन्तर आक्रमण भइरहेकाले हामीले पनि संसदमा उपेन्द्र यादवको कमी महसुस गरेका छौं । त्यसका लागि हामीले पटकपटक दबाब दिइरहेका छौं ।’

    सम्बन्धित समाचार...