२३ बैशाख २०८१, आईतवार

जनयुद्धले राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धको कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले २०५२ सालपछि राजनीतिक स्वार्थको लागि १७ हजार मानिसको ज्यान गएको तर्क गरे ।

‘२०५२ सालपछि राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए । नेपालमा भएको के थियो ? के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । २०६३ सालको सुरुमा द्वन्द्व र हिंसा समाप्त भयो ।’ उनले भने अगाडि भने, ‘२०६३ साल कात्तिकमा वृहत शान्ति सम्झौता भयो । २०६५ सालमा राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १७ हजार मान्छे मार्नुपर्छ र ?’

साथै उनले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राष्ट्र र जनताको हित विपरित चल्न खोजे सह्य नहुने चेतावनीसमेत दिए । जनताको हित विपरीत हुने सरकारको कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने ओलीको भनाइ छ ।