२३ बैशाख २०८१, आईतवार

अदालतले मुद्दा चलाउन अनुमति दिएपछि माओवादीका सबै घटकमा तरंग

maoist

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले मुद्दा चलाउन अनुमति दिएपछि त्यसको प्रभाव प्रधानमन्त्री दाहालदेखि नेत्रविक्रम चन्दसम्म परेको छ । विस्तृत शान्तिसम्झौताको भावनाविपरीत सर्वोच्चबाट रिट दर्ताको आदेश आएको भन्दै माओवादी नेताहरुले एकै ठाउँमा उभिएर प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

तीन वर्षअघि दाहालले खुलामञ्चमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा गत कात्तिक १४ मा रिट निवेदन परेको थियो । दाहाललाई पक्राउ गर्ने आदेशको माग गर्दै परेको उजुरी अदालतले दर्ता नगरी कात्तिक २४ गते दरपीठ गरिदिएको थियो । तर, सोही निवेदनलाई शुक्रबार अदालतले दर्ता गर्न आदेश गरिदिएपछि माओवादी नेताहरु तर‌ंगित बनेका हुन् ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालसँग एउटै मञ्चमा बाबुराम भट्टराई र नेत्रविक्रम चन्द लगायतका माओवादी नेताहरु उपस्थित थिए । कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूहरुलाई घेराबन्दीमा पार्न खोजिएको गुनासो पोखे ।

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विज्ञप्ति नै निकालेर सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ । माओवादी नेताहरुले आफुहरुलाई संकटको घेरामा पार्न खोजिएको भन्दै एक ठाउँमा उभिनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।

जनयुद्धमा सँगसँगै रहे पनि शान्तिप्रक्रियापछि विभिन्न चिरामा विभाजित अवस्थामा रहेका माओवादी नेताहरुलाई सर्वोच्च अदालतको आदेशले एउटै मञ्चमा उभ्याइदिएको छ । उनीहरुबीच पार्टी एकता होला, नहोला त्यो आन्तरिक विषय हो । तर, स‌ंक्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन भने ढीला भइसकेको छ । अझ माओवादीकै नेताले सरकार सत्ता सम्हालेका बेला शान्तिप्रक्रिया टुंगो नलगाइनु गैरजिम्मवारीको पराकाष्टा नै हो भन्दा फरक नपर्ला ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहालले ५ हजारको हत्याको जिम्मेवारी लिने भनेर सार्वजनिक मञ्चबाट दिएको अभिव्यक्तिलाई लिएर पेस भएको रिट दर्ता गर्न सर्वोच्च अदालतका दुई न्यायाधीशको इजलासले आदेश दिएपछि सत्तारुढ माओवादी केन्द्रलाई ठूलै झट्का लागेको छ ।

प्रधानमन्त्री दाहालकै पार्टी माओवादीले सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै आइतबार एक विज्ञप्ति जारी गरेको छ भने प्रधानमन्त्री दाहालसँगै उनका पूर्वसहकर्मीहरु एकै मञ्चमा उभिएर चर्को प्रतिक्रिया दिएका छन् । एउटै पार्टीमा बस्न नसकेर छिन्नभिन्न भएका बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत नेताहरु समेत दाहाललाई साथ दिन आइपुगेका छन् ।

उनीहरुको एउटै भनाइ छ, विगतमा आफूहरुले गरेको संघर्षको अवमूल्यन भयो । राजनीतिक संघर्षलाई अपराधीकरण गर्न खोजियो । राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गरियो ।