६ जेष्ठ २०८१, आईतवार

दुई पूर्वसभामुखहरुबीच प्रतिस्पर्धा: कसले मार्लान् बाजी ?

rastrapati

आगामी फागुन २५ मा हुने राष्ट्रपतिको चुनावमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । शनिबार कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले नेता सुवास नेम्वाङले उम्मदेवारी दर्ता गरेपछि अब फागुन २५ सम्म चुनाव जित्ने रणनीतिमा दुबै पक्ष लाग्न थालिसकेका छन् ।

संघीय संसदको दुबै सदनका ३ सय ३२ जना र प्रदेशसभाका ५५० गरी कुल ८८२ जनाले मतदान गर्ने राष्ट्रपतिको चुनावमा कांग्रेस नेता पौडेलको पक्षमा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको साथ छ ।

एमालेबाट नेम्वाङ एक्लै देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन एमालेले लिन सक्ने देखिन्छ । तथापि उम्मेदवार बनिसकेपछि कांग्रेस नेता पौडेलले एमाले लगायतका सबै दलका नेतासँग मत मागेका छन् ।

फागुन १६ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । यसअनुसार १६ गतेसम्म सहमतिको प्रयास गर्ने एमाले नेताहरुको रणनीति देखिन्छ । यही नीतिअनुसार एमालेले माओवादीलाई नचिढ्याउने नीति लिएको छ ।

आखिर राष्ट्रपतिको चुनावमा भाग लिएका दुवै पूर्वसभामुखहरुको प्रोफाइल कस्तो छ त ?

बाहुनपोखराका पौडेल

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। ८ दलको साझा उम्मेदवार बनेका पौडेलको पक्षमा सुविधाजनक बहुमत देखिएकाले फागुन २५ को चुनावपछि उनको शीतलनिवास यात्रा पक्काजस्तै छ ।

राजनीतिक यात्राका क्रममा उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका पौडेलले पार्टी सभापति र प्रधानमन्त्री बन्ने जमर्को गरे पनि सफल हुन सकेका थिएनन् ।

तनहुँको रिस्तीस्थित बाहुनपोखरामा २००० साल असोज २९ गते जन्मिएका कांग्रेसका वरिष्ठ नेता पौडेलले संस्कृत भाषामा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । १६ वर्षको उमेरमै राजनीतिमा प्रवेश गरेका पौडेल २०१७ सालमा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पञ्चायतविरोधी आन्दोलनमा होमिएका थिए ।

पौडेलले २०४८ देखि २०७० सालसम्म तनहुँ जिल्लाबाट निरन्तर चुनाव जिते । २०४८ सालमा तनहुँ – १ बाट जितेका उनी २०५१ सालमा तनहुँ – २ बाट विजयी भए । २०५६, २०६४, २०७० मा उनी तनहुँ – २ बाटै विजयी भए । २०७४ को संसदीय चुनाव हार्दा उनको २६ वर्षको विजयी यात्रामा ब्रेक लाग्यो । २०७४ को चुनावमा उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार किसनकुमार श्रेष्ठले हराएका थिए । २०७९ मा पौडेल तनहुँ – २ बाट निर्वाचित सांसद हुन् ।

पौडेल स्थानीय विकास तथा कृषि, शान्ति तथा पुनर्निर्माण मन्त्रीका साथै गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । पञ्चायतविरोधी आन्दोलनमा लागेको आरोपमा उनले पटक – पटक गरी एक दशकभन्दा बढी जेल जीवन बिताएका छन् । २०६७ साउनमा प्रधानमन्त्रीका लागि संसदमा भएको मतदानमा पौडेल १७ पटकसम्म पराजित भएका थिए । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी सभापतिमा उठ्ने चर्चा चले पनि गणितीय जोडघटाउमा आफू कमजोर हुने अवस्था आकलन गरेर उम्मेदवार बनेनन् ।

आस्थाको यात्रा, नयाँ सन्दर्भमा समाजवाद, प्रजातान्त्रिक समाजवादी एक अध्ययन, अभिशप्त इतिहासलगायतका उनका विभिन्न कृति प्रकाशित छन् । कांग्रेसभित्र उनको छवि सादगी नेताका रुपमा रहेको छ ।

सुन्तलाबारीका सुवास

सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । संविधानसभाका अध्यक्षसमेत रहेका ७२ वर्षीय नेम्वाङ पटक-पटक निर्वाचित सांसद भइसकेका छन् । उनले संसदीय निर्वाचनमा अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन ।

२००७ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका एमाले नेता नेम्वाङले कानुनमा स्नातक गरेका छन् । २०२८/२९ सालदेखि विधार्थी राजनीति गरेका उनी अनेरास्ववियूका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियू सभापति भएका थिए ।

नेम्वाङले पार्टी राजनीति भने २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुना परेपछि सुरु गरेका हुन् । उनी तत्कालीन मालेमा सङ्गठित भएर राजनीतिमा होमिएका थिए ।

कम बोल्ने, हँसिलो स्वाभावका नेम्वाङ पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख, अन्तरिम व्यवस्थापिकाको सभामुख, पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष बनिसकेका छन् । २०४८ सालमा राष्ट्रियसभा सदस्य बनेका उनी २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य बने ।

नेम्वाङले कुनै पनि संसदीय निर्वाचनमा पराजय व्यहोरेका छैनन् । उनी २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य थिए । २०५६, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य र २०६४, २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भए ।

उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासन मन्त्री र सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका उनी नेपाल बार एसोसिएसनको पूर्व महासचिव पनि हुन् ।

कानुन व्यवसायीका रूपमा परिचित नेम्वाङ अध्ययन र समाजसेवामा दखल राख्छन् । नेम्वाङ संविधानसभामार्फत् संघीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील नेताका रुपमा परिचित छन् । उनका आधा दर्जनभन्दा बढी कृति पनि प्रकाशित छन् ।