६ जेष्ठ २०८१, आईतवार

अगामी राष्ट्रपतिका लागि पूर्वसभामुखहरु भिड्दै, कसको कति मतभार ?

rastrapati

अगामी राष्ट्रपतिका लागि पूर्वसभामुखहरु भिड्ने भएका छन्। उम्मेद्‍वारी मनोनयनका दर्ताको लागि तोकिएक समय सीमासम्म २ जनाको मात्रै उम्मेद्‍वारी परेको छ।

राष्ट्रपतिका लागि शिर्ष दुई दलले मात्रै उम्मेद्‍वारी मनोनयन दर्ता गराएका छन्। उम्मेद्‍वारी दर्ता गराउनेमा नेपाली कांग्रेसको तर्फबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ रहेका छन्। उनीहरु सांसद्‍का साथै पूर्वसभामुखपनि भइसकेका ब्यक्ति हुन्।

पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत ८ दलको साथ रहँदा नेम्वाङलाई हालसम्म एमालेबाहेकका दलहरुले समर्थन गर्ने निर्णय गरेका छैनन्।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्‍का दुवै सदन र सात वटै प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । उम्मेदवारी दर्ताकै क्रममा देखिएको दलहरूको गठबन्धनबाट सम्भावित नजिताको आकलन गर्न थालिएको छ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्बाङका पक्षमा कस्तो छ त मतभार ?

फागुन २५ गते हुने फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका २ सय ७३, राष्ट्रियसभाका ५९ र प्रदेश सभाका ५ सय ५० जना मतदाता छन् ।

राष्ट्रपतिको निर्वाचनमा संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।

यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्ने ब्यवस्था रहेको छ।

दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली पनि प्रकाशन गरेको छ। मतदाता नामावलीमा ३ सय ३२ संघीय सांसद्‍ र ५ सय ५० प्रदेश सांसद्‍को नाम रहेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार संघीय सांसद्को प्रतिसांसद् ७९ मतभार तोकेको छभने प्रतिप्रदेश सांसद्‍को ४८ मतभार तोकेको छ। जसअनुसार संघीय सांसद्को मतभार २६ हजार २ सय २८ रहँदा प्रदेशसभा सांसद्‍को मतभार २६ हजार ४ सय रहेको छ। यसरी जम्मै मतभार ५२ हजार ६ सय २८ रहन्छ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि जम्मा मतभार ५२ हजार ६ सय २८ को ५० प्रतिशत अर्थात २६ हजार ३ सय ४० मतभार कम्तिमा ल्याउनुपर्ने देखिन्छ।

जसका लागि एमालेलाई संकट पर्न सक्छभने कांग्रेसलाई सहज हुने वातावरण देखिएको छ। राष्ट्रपतिमा ८ दलबाट मनोनयन दर्ता गराएका पौडेललाई एमाले र राप्रपाबाहेक अन्य दलले सहयोग गर्ने भएका छन्।

यसरी पौडेललाई सहयोग गर्दा नेपाली कांग्रेससँग १५ हजार ३ सय ५२, माओवादी केन्द्रसँग ६ हजार २ सय ७२, एकीकृत समाजवादीसँग १ हजार ९ सय ४२ मतभार रहेको छ।

यस्तै, जनता समाजवादी पार्टीसँग १ हजार ९ सय ८, लोकतान्त्रिक समाजवादी पार्टीसँग ८ सय ९२, जनमत पार्टीसँग १ हजार १ सय ९४, नागरिक उन्मुक्तिसँग ८ सय १३ , नेपाल समाजवादी पार्टी २ सय ५४ र राष्ट्रिय जनमोर्चासँग १ सय २७ मतभार रहेको छ।

त्यस्तै एमालेसँग १३ हजार ४ सय ४४ मतभार रहँदा एमालेलाई साथ दिने बताइएको राप्रपासँग २ हजार ३ सय ६ मतभार रहेको छ।

यसरी मतभार जोड्दा ८ दलिय गठबन्धनबाट राष्ट्रपतिको उम्मेद्‍वार बनेका पौडेलको पक्षमा २८ हजार ७ सय ५४ मतभार देखिदाँ एमालेका नेम्वाङको पक्षमा १५ हजार ७ सय ५० मतभार देखिन्छ।