६ जेष्ठ २०८१, आईतवार

‘नेपालको निर्वाचनमा धन, बल र छलका धेरै खेलहरू बढे’

330157622 1911328419212021 5326721485956642810 n.jpg

नेपालको निर्वाचन प्रणाली सुधारका सम्बन्धमा निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता तथा प्रतिनिधिहरूसँग छलफल गर्‍यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो छलफलमा सहभागी नेताहरूले नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो हुँदै गएको र कम खर्चमा निर्वाचन सम्पन्न हुने गरी व्यवस्था गर्न आयोगलाई सुझाव दिए ।

यसक्रममा जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले निर्वाचन प्रणाली खर्चिलो भएको कारण जनताले राम्रो प्रतिनिधि छान्ने अवसर नपाएका तर्क राखे । उनले नेपालको निर्वाचन प्रणालीमा सुधार ल्याउनै पर्ने जिकिर गर्दै भने, ‘यो निर्वाचन प्रणाली धेरै खर्चिलो भयो । धन, बल, छलका धेरै खेलहरू बढेँ ।’

छलफलमा बोल्ने अधिकांश नेताहरूले धन हुनेहरूले मात्रै अहिलेको निर्वाचन प्रणालीमा उम्मेदवार बन्न सक्ने अवस्था रहेको धारणा राखे । निर्वाचनमा आम नागरिकले उम्मेदवार बन्न सक्ने वातावरण बनाउनुपर्नेमा उनीहरूको जोड थियो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले धनाढ्यहरूले मात्रै लड्न सक्ने अवस्था रहेकाले निर्वाचन प्रणालीको अन्त्य गर्ने गरी ऐनमा नै सुधार ल्याउनुपर्ने सुझाव दिएको बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री झनक प्याकुरेलले भने संघीयतालाई देशले बोक्न नसक्ने भएकाले त्यसको विकल्पमा जनउत्तरदायी शासन प्रणाली ल्याउनुपर्नेमा आफूले सुझाव दिएको जानकारी दिए । छलफलमा विदेशमा रहेका नेपालीलाई मतदानको प्रक्रियामा ल्याउनुपर्ने विषय पनि सबैले उठाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीहरूलाई नै कारबाही गर्ने व्यवस्था ल्याउनुपर्ने सुझाव दिए ।