२१ बैशाख २०८१, शुक्रबार

पहिलो प्राथमिकतामा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता : सभामुख

Devraj Ghimire sabhamukha

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकामा धन्यवाद व्यक्त गरे । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै उनले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने जनाए । उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे । ‘नेपालको संविधानले अंगिकार गरेका मूलभूत मान्यताहरुको संरक्षण, संवर्द्धन र विकास गर्दै संविधानवाद र कानुनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगीकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्यप्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन,’ उनले भने ।

उनले राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको जनाए । संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालको संविधानले अंगीकार गरेको जनतामा निहीत सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधिसभा गठन भएको छ,’ उनले भने, ‘जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।’

सभामुख घिमिरेले प्रतिनिधिसभा सांसदहरुलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’