२६ बैशाख २०८१, बुधबार

हत्याको अभियोग लागेका सांसद् पनि यसै सदनभित्र छन् : खतिवडा

ramhari khatiwoda 768x384 1

सभामुखको चुनावका लागि आयोजित प्रतिनिधिसभाको बैठकमा बिहीबार कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो सिटमा उभिएर माइकमा केही बोल्न खोजे । सभाध्यक्ष पशुपतिशमशेर जबराले सोधे, ‘माननीयज्यू के भन्नु छ ?’

सांसद खतिवडाले भने, ‘हत्याको अभियोग लागेका सांसद् पनि यसै सदनभित्र छन् भन्ने सुनिन आएको छ । हामी चिन्दैनौं उहाँ यहाँभित्र हुनुहुन्छ या हुनुहुन्न । यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने त्यो निर्णय गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

सांसद खतिवडाले संकेत गर्न खोजेका व्यक्ति हुन्- एमाले सांसद लक्ष्मी महतो कोइरी । गत मंसिर ४ मा महोत्तरी १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका कोइरी त्यसयता सपथ ग्रहण गरिवरि संसद् भवनमा प्रवेश गरिसकेका छन् । बिहीबार भने हाजिरी किताबमा उनको हस्ताक्षर देखिएन ।

प्रहरी हत्या आरोपमा फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्‌मा पटक-पटक निर्धक्क आउजाज गरिरहँदा पनि पक्राउ परेका छैनन् । मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यामा उच्च अदालतबाट कोइरीलाई थुनामा राख्न आदेश सुनाइएको थियो ।

२०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भएका प्रहरी थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । यो घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा लक्ष्मी महतो कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएपछि उनी फरार भए । अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।

महोत्तरी १ बाट माओवादी नेता गिरिराजमणि पोखरेललाई हराएर पहिलोपटक गत पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिन संसद् भवन पुगेका कोइरी दोस्रोपटक पुस २६ मा माओवादी केन्द्रका पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन संसद् भवन पुगेका थिए ।

प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को काम-कारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो ।

बिहीबार कांग्रेस सांसद खतिवडाले हत्या अभियोग लागेका सांसद संसद्‌मै रहेको दाबी गरेपछि जवाफ दिने क्रममा गृहमन्त्री रवि लामिछानेले अमूर्त कुरा गरे । गृहमन्त्री लामिछानेले भने, ‘फरार रहनुभएका मानिस संसद्‌मा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतः सिद्ध छ ।’

कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाचार आएपछि त्यसबेला गृहमन्त्री लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए ।