१४ बैशाख २०८१, शुक्रबार

रुस-युक्रेन युद्ध समाधानको पहल गर्न चीनलाई युक्रेनको आग्रह

Ukraine First Lady

युक्रेनले रुससँगको युद्ध समाधानका लागि वार्ताको पहल गर्न चीनलाई आग्रह गरेको छ ।

युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्काले विश्व आर्थिक मञ्चको बैठकका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता उप प्रधानमन्त्री ली हूलाई बुधबार पत्र दिएकी हुन् ।

पत्रमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आमन्त्रण गरेका छन् । रुसले युक्रेनमा आक्रमण थालेको एक वर्ष पुग्न लागेको छ ।

युक्रेनको पत्रलाई युद्धको अन्त्यका लागि वार्ताको अगुवाइ गर्न आग्रह गरेको अर्थ लगाइएको छ । गत फ्रेब्रुअरीमा रुसले युक्रेन माथि गरेको आक्रमण यता जेलेन्स्कीले सी चिनफिङसँग पटकपटक सम्पर्क गर्न खोजेका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङले केही प्रभाव पार्न सक्ने अपेक्षा गरेका छन् ।

अहिलेको निमन्त्रणाको चीनबाट सकारात्मक जवाफ आउन सक्ने आशा जेलेन्स्कीले गरेका छन् ।

रुस-युक्रेन युद्धमा चीन अहिलेसम्म तटस्थ देखिएको छ । विश्लेषकहरुले यस युद्धमा चीनले मध्यस्थता गर्न पहल गर्न सक्ने बताएका छन् । युक्रेन र चीनका परराष्ट्र मन्त्रीहरुले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभामा साइडलाइन भेटवार्ता गरेका थिए ।

    सम्बन्धित समाचार...