५ जेष्ठ २०८१, शनिबार

घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

devraj ghimere
फाइल फोटो

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे बहुमतका साथ निर्वाचित भएका छन् ।

सभामुख चयनका लागि बिहीबार भएको मत विभाजनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे एमाले सांसद हुन् ।

प्रतिनिधिसभामा उपस्थित कुल २६८ सांसदमा घिमिरेले प्राप्त गरेको मत बहुमत हुने भएकाले उम्मेदवार घिमिरे सभामुखमा निर्वाचित भएको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गरे ।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् ।

प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ बसेका छन् भने समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन थिए ।

यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक थिए ।

सत्ता साझेदार दलहरु एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मतदान गरे । यस्तै जनता समाजवादी पार्टीले पनि घिमिरेलाई समर्थन गरेको थियो ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले न्यौपानेको पक्षमा मतदान गरेका थिए ।