१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओली भन्छन्– नेपाल हेपिँदैन, हेपिन तयार छैन, योगी आदित्यनाथको भनाई अनुचित

PM KP OLI YOGI ADITYANATH

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति आपतिजनक र निन्दनीय भएको बताएका छन् । ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गरेका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन् ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भने, ‘यदि उहाँले बोल्नुभएको हो भने जायज होइन । त्यसरी नेपाललाई धम्काउन खोजेको हो भने उचित होइन । अहिले त्यत्ति भनौं । उनी केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइनन् ।’

संसद बैठकमा उनले थपे, ‘बोलेको हो भने धम्की दिएको हो भने निन्दनीय विषय हो । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने योगीलाई स्मरण गराउन चाहन्छु ।’

आदित्यनाथले नेपाल–भारत सीमाको विषय जोड्दै नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

राष्ट्रियताको सवालमा सिंगो संसद एक, कसैले जस लिने विषय होइन

प्रधानमन्त्री ओलीले राष्ट्रियताको सबालमा सिंगो संसद एक भएर उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उहांले राष्ट्रियताको विषयमा संविधान संशोधन कुनै एकलैले मात्र जस लिने विषय नभएको बताए ।

जनतालाई हानी नगर्ने विषयमा र अन्य कुरामा मतभेद भए पनि राष्ट्रियताको विषयमा एक भएको कुरा विगतदेखि नै देखिएको उनको भनाई थियो ।

राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिको उनले सराहना  गरे । प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा बजेट केन्दित रहेको बताए ।

कोरोनाबाट सबै क्षेत्रमा असर परेको भन्दै प्रयासहरु शतप्रतिशत ठिक नभए पनि प्रयास प्रभावकारी भएको जिकिर गरे ।

महामारीको विषयलाई दलीय हिसाबले मात्र नभई मानवीय हिसाले हेर्न आग्रह गरे ।