१६ चैत्र २०८०, शुक्रबार

कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन : प्रधानमन्त्री ओली

pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए ।

कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे ।

उनले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे ।

यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए ।

अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए ।

‘सेनाले स्वास्थ्य सामग्री किन्दा किन आपत्ति ?’

नेपाली सेनाले स्वास्थ्य सामग्री किन्दा कसैले पनि आपत्ति जनाउन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अंग परिचालन गर्दा सेनालाई पनि जिम्मेवारी दिएको बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘यसअघि पनि नेपाली सेनाले प्लेन पनि किनेको छ, हतियार पनि किनेको छ, हेलिकप्टर पनि किनेको छ, अरु सामग्री पनि किनेको होला, बिस्कुट किनेको होला, थुप्रै चिज किनेको होला, त्यो बेला व्यापारिक भएन। केही सामग्री छिटोछरितो रुपमा ल्याउँछ भने त्यतिबेला व्यापारिक हुने?’

सेनाको पनि आफ्नै अस्पताल भएकाले उसले आफ्नो अस्पताल सञ्चालन गर्न सामग्री ल्याउँछ भने त्यसमा आपत्ति जनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

उनले भने, ‘२८ हजार पीसीआर, पीपीई र केही सामान आफूलाई आवश्यक पर्ने सामान किन्दा यसमा आपत्ति हुनुपर्ने किन? सेना सरकारको एक अंग हो, त्यसैले सुरक्षासम्बन्धी सबै निकाय परिचालन गरिन्छ।’ गृहको अधिकार नखोसी सेनालाई अधिकार दिइएको प्रधानमन्त्री ओलीले बताए। सेनालाई केही फरक व्यवहार गरेर धारणा राख्नु नपर्ने उनले बताए।