१५ बैशाख २०८१, शनिबार

१० अर्ब खर्च कहाँ भयो सरकारसँग एक-एक हिसाब माग्छौ, क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प ?

gagan thapa house of representative

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । थापाले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि आजसम्म गरेका कामहरूको हिसाबकिताब चाहिने बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकको शुरुमै सभामुखसँग विशेष समय मागेर बोलेका सांसद थापाले आक्रोशित हुँदै भने, ‘सदनमा कांग्रेसले एउटा-एउटा कुराको हिसाब किताब कांग्रेस सुतेर बस्दैन अब ।’

‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको टिप्पणी गरे ।

थापाले कोरोना रोकथामका लागि भनेर खर्च भएको १० अर्ब कहाँ गयो भनेर सभामुखमार्फत सरकारसँग जवाफ मागे

‘अब टेस्ट गर्ने बन्द गर्दिने ? नेपालमा कोरोना फ्री भन्दिने ? जवाफ चाहियो,’ उनले भने, ‘भोलि एक दुई वटा निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न पाइन्न ।’

उनले पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

‘पाँचवटा मेसिन किन्ने, अनि २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने, हामी एक एक हिसाब माग्छौँ’, आक्रोशित हुँदै गगनले भने ।

‘प्रधानमन्त्री आएर हामीलाई बताउनुहुन्छ १ लाख ६६ मानिसलाई क्वारेन्टिनमा राखेका छौँ, यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो हामीलाई यसको जवाफ चाहिन्छ ।’

उनले सुदूरपश्चिम लगायतका क्षेत्रमा स्वाब संकलन रोकिएकोप्रति पनि सरकारले जवाफ दिनुपर्ने बताए ।

‘सुदूरपश्चिममा स्वाव कलेक्सन रोकिएको छ । प्रदेश २ मा हजारौँ मानिसहरु परीक्षणको रिपोर्ट नआएर छटपटाइरहेका छन् । तर सरकार परीक्षणको दायरा सीमित पारिरहेको छ’, आक्रोशित हुँदै थापाले भने, ‘अब यसो गरौँ, ‘टेष्ट गर्नै बन्द गर्दिने अनि, नेपाललाई कारोना फ्रि देश भन्दिने, यसो गरियो भने कोरोना संक्रमित भेटिँदैनन् ।’

उनले केही कर्मचारीको सरुवा गरेर स्वास्थ्य मन्त्रालय जिम्मेबारीबाट भागिरहेको आरोप लगाए।

वर्तमान सरकारले अब मुलुकलाई कोरोनाको लडाईँबाट पार लगाउन नसक्ने निष्कर्ष कांग्रेसले निकालेको जानकारी गराए । उनले अहिलेसम्म कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेकाे कांग्रेसले अब एक-एक प्रश्नको जवाफ माग्ने बताए ।

उनले विज्ञहरूले आरडीटी गरेर हुँदैन भनेको स्मरण गराए । ‘जबर्जस्ती आरडीटी परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने हामीलाई जवाफ चाहिन्छ । मृत्यु भैसकेको मान्छेको स्वाब परीक्षण नगर्ने ? कसले भन्यो ? हामीलाई जवाफ चाहिन्छ,’ उनले भने ।

थापाले थप प्रश्न गरे, ‘अस्पतालको तयारी खै ? यत्रो दिनसम्म लक-डाउन थपियो, अब संक्रमतिका लागि अस्पताल खै ? कहाँ कति स्वास्थ्य सामग्री थपियो ? यसको जवाफ चाहिन्छ ।’

थापाले विदेशमा अलपत्र परेकाहरूलाई ल्याउने भनेर गरेको निर्णय कहाँ पुग्यो भनेरसमेत प्रश्न गरे । ‘अहिले कुन एयरलाइन्सले ल्याउने भनेर झगडा गरेर बसेको छ,’ आक्रोशित हुँदै थापाले प्रश्न गरे, ‘आउनलाई आतुर भएर बसेका नेपालीहरू माथि बज्रपात गरियो, त्यसको जवाफ चाहिन्छ ।’

उनले गर्भवती महिला, खोप पाउने बालबालिकाले दीर्घरोगीका उपचारले औषधि किन पाएनन्, त्यसको पनि जवाफ चाहिने बताए ।

थापाले प्रधानमन्त्रीको कविता र गीतबाट राहत नपाइने भन्दै व्यंग्य गरे । ‘कृषक, मजदूरदेखि साना उद्योगी, ठूला उद्योगीले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन्, तिनको लागि के योजना छ, जवाफ चाहियो । यो प्रश्नका लागि प्रश्न गरेको होइन ।’

उनले कोरोना रोकथामका लागि भन्दै गठन भएको उच्च्च स्तरीय समितिलाई संसदले नचिन्ने भन्दै त्यसका संयोजक उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

उपप्रधानमन्त्रीको जवाफ चित्त नबुझे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए। प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने उनकाे भनाई छ।

‘उच्चस्तरीय समिति भनेर बनेको छ, त्यो हामीले चिन्दैनौं । यहाँ ल्याएर चिनाउनुपर्यो । हामीले उठाएको प्रश्न दिनुपर्यो । जवाफमा चित्त नबुझे प्रधानमन्त्री आउनुपर्यो । हाम्रो हरेक प्रश्नको उत्तर दिनुपर्यो,’ उनी गर्जिए ।

उनले थपे – ‘हामीले आज जवाफका लागि अनुरोध मात्र गरेका छौं, हाम्रो कुरा सुनुवाई भएको छैन । जवाफ दिनु भएन भने हामी जवाफ मागेर मात्र बस्दैनौं । थपक्क बोलेर बस्ने दिन गए । सरकारले यहाँ आएर हामीले मागेको हिसाबकिता दिएपछि मात्र सबै प्रक्रियाहरू सुचारू हुने ठाउँसम्म हामी पुग्छौं । सरकारले सोचोस्, तयारी गरोस्, सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब नदिइकन सरकारलाई सुतेर बस्न दिँदैन भन्ने कुरा जानोस् ।’