२६ बैशाख २०८१, बुधबार

वर्षौं गठबन्धन रहन्छ भन्ने पदाधिकारीहरुले कांग्रेसले गुमाएको सबै जिम्मा लिउन् : महर

nayansing mahar
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा गठबन्धन वर्षौं रहन्छ भन्ने पदाधिकारीहरुले लिनुपर्ने बताएका छन् ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न नमानेपछि एमालेसँग गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीको बेइमानीबारे आफू जानकार रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी केही केन्द्रीय सदस्यहरु गठबन्धनभन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एकजना प्रभावशाली महामन्त्रीजीले कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनुभो । पारित गर्न अनुरोध गरेपश्चात प्रस्ताव पास भयो ।’

संघदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएपछि कांग्रेस पार्टीको इतिहासमा ७४ सीट छोडेर ९१ सीटमा लड्न बाध्य पारेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘ततपश्चात केन्द्रीय समिति बैठकविना नै पदाधिकारी र कार्यसम्पादन समिति बैठकको नाममा कांग्रेस पार्टीको इतिहासमा ७४ सीट छोडेर ९१ सीटमा लड्न कांग्रेसलाई बाध्य पारियो र निर्वाचनको समीक्षासमेत नगरेर सरकार निर्माणको प्रक्रियाका लागि समेत केन्द्रीय समिति बैठक आवश्यक ठानिएन ।’

उनले पार्टीले सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने नेतृत्वमाथि आक्रोश पोखेका छन् ।

‘आज सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने र वर्षौंसम्म गठबन्धन कायम रहन्छ भनेर हवाला दिने पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्छ’, उनले भनेका छन् ।

Capture 7